सुलभ फार्मेसी : तिलोत्तमा नगरवासीलाई राहत, स्थानीय औषधी व्यवसायीलाई तनाव

स्वास्थ्यसमाचार: तिलोत्तमा नगरपालिकाले सञ्चालनमा ल्याएको ‘सुलभ फार्मेसी’लाई लिएर नगरभित्रका औषधि व्यवसायीहरूले विरोध जनाएका छन्।

नगरपालिकाले वार्षिक करिब २ लाख ५० हजार रुपैयाँ घरभाडा व्यहोर्ने तथा फार्मेसीमार्फत नगरवासीलाई औषधि खरिदमा २५ प्रतिशत छुट उपलब्ध गराउने व्यवस्था गरेपछि स्थानीय औषधि व्यवसायीहरूले यसको विरोध गर्नुका साथै नगरपालिकामा डेलिगेसनसमेत गएका छन्।

नगरपालिकाले यसलाई नागरिकको स्वास्थ्य सुरक्षासँग जोडिएको सामाजिक उत्तरदायित्वको कार्यक्रम भनेको छ भने व्यवसायीहरूले यसले बजारमा असमान प्रतिस्पर्धा सिर्जना गरेको आरोप लगाएका छन्। उनीहरूले यस्तो सहुलियतले निजी औषधि पसलहरूलाई प्रतिस्पर्धामा टिक्न कठिन बनाएको दाबी गरेका छन् भने नगरपालिकाले यो कार्यक्रम पूर्ण रूपमा नागरिक हितका लागि ल्याइएको स्पष्ट पारेको छ।

नगर प्रमुख रामकृष्ण खाणले सुलभ फार्मेसी कुनै निजी व्यवसायलाई प्रतिस्थापन गर्न वा कसैको व्यापार बन्द गराउने उद्देश्यले स्थापना नगरिएको बताउनुभयो। उहाँले महँगो औषधिका कारण आर्थिक बोझ खेपिरहेका नागरिकलाई राहत दिन तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न नगरपालिकाले यो कदम चालेको बताउनुभयो।

“नगरपालिकाले जनताको हितलाई केन्द्रमा राखेर निर्णय गरेको हो, कुनै व्यवसायिक समूहको दबाब वा स्वार्थ हेरेर होइन,” नगर प्रमुख खाणले भन्नुभयो। उहाँले केही व्यवसायीले असन्तुष्टि व्यक्त गर्नु उनीहरूको अधिकार भए पनि जनप्रतिनिधिको पहिलो दायित्व नागरिकको हित संरक्षण गर्नु रहेको बताउनुभयो।

उता, तिलोत्तमा वडा नं. ३ का वडा अध्यक्ष कल्याण पौडेलले भन्नुभयो, “उपभोक्तालाई राहत दिने नयाँ कार्यक्रम ल्याउनु र विकास गर्नु के गलत हो र?” उहाँले जनप्रतिनिधिहरूको काम नागरिकको पक्षमा उभिनु भएको बताउँदै व्यवसायीहरूलाई पनि स्वच्छ प्रतिस्पर्धा गर्ने अधिकार सुरक्षित रहेको उल्लेख गर्नुभयो। “व्यवसाय गर्नुहोस्, सर्वसुलभ रूपमा सेवा दिनुहोस्,” पौडेलको भनाइ छ।

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले सुलभ फार्मेसी सञ्चालनलाई बजार हस्तक्षेपका रूपमा व्याख्या गर्नु गलत भएको बताउनुभयो। “स्थानीय सरकारको मूल जिम्मेवारी नागरिकको जीवनस्तर सुधार गर्ने र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्नु हो,” उहाँले भन्नुभयो।

औषधिको मूल्य पसल र व्यवसायअनुसार फरक- फरक हुने, कतिपय स्थानमा औषधिको मूल्यसमेत नबताइने र छुटको विषय त परै जाओस् भन्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले सार्वजनिक हितलाई प्राथमिकता दिएर पालिकाभित्र फार्मेसी सञ्चालनमा ल्याइएको बताउनुभयो।

भुसालले नगरपालिकाले कसैलाई व्यापार गर्न नरोकेको, कुनै पसल बन्द नगराएको र कुनै व्यवसायीको अधिकार कटौती नगरेको स्पष्ट पार्नुभयो। “यदि नगरवासीले २५ प्रतिशत छुटमा औषधि पाउँछन् भने त्यसलाई नकारात्मक रूपमा हेर्नुभन्दा नागरिक हितको दृष्टिकोणबाट मूल्यांकन गरिनुपर्छ,” भुसालले भन्नुभयो।

उहाँले यो सेवा कुनै व्यक्ति, संस्था वा व्यवसाय प्रवर्द्धनका लागि नभई सम्पूर्ण तिलोत्तमावासीको स्वास्थ्य सुरक्षाका लागि ल्याइएको अभियान भएको बताउनुभयो।

स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत रामप्रसाद ढकालले भन्नुभयो, “नगर अस्पताल सञ्चालन भएपछि स्वास्थ्य बीमामा आबद्ध नागरिकले ९० प्रतिशतसम्म निःशुल्क सेवा प्राप्त गर्नुहुन्छ। थप औषधि खरिद गर्नुपर्ने अवस्थामा नगरपालिकासँग भएको पाँच वर्षे सहमतिअनुसार सुलभ फार्मेसीले २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ। त्यही औषधि खरिद गर्नुहुन्छ।”

उता, विभिन्न उद्योग–व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरू भने यस विषयमा गम्भीर असन्तुष्टि जनाउँदै नगरपालिकासँग छलफल गर्न पुगेका थिए। तर नगर प्रमुखसँग समय नमिलेका कारण प्रत्यक्ष भेटघाट हुन नसकेको उहाँहरूले बताउनु भएको छ।

व्यवसायीहरूको भनाइमा औषधि कम्पनीहरूले सामान्यतया १० देखि १५ प्रतिशतसम्म मात्रै नाफा दिने भएकाले २५ प्रतिशत छुट दिएर सञ्चालन हुने फार्मेसीसँग प्रतिस्पर्धा गर्न निजी पसलहरूलाई कठिन हुनेछ। “हामीले घरभाडा तिरेका छौँ, व्यवसाय कर तिरेका छौँ। यस्तो अवस्थामा २५ प्रतिशत छुट दिने फार्मेसीसँग कसरी प्रतिस्पर्धा गर्ने?” एक व्यवसायीले प्रश्न गर्नुभयो।

नगरपालिकामा आफ्ना भनाइ राख्न गएका प्रतिनिधिमण्डलमा बुटवल उद्योग वाणिज्य संघका मुक्ति अधिकारी, औषधि व्यवसायी सुरज भट्टराई, रुपन्देही व्यापार संघका दया भण्डारी, तिलोत्तमा उद्योग संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ तथा स्थानीय उद्योगी–व्यवसायीहरूको सहभागिता रहेको बताइएको छ।

केही महिनाअघि सञ्चालनमा आएको सुलभ फार्मेसी स्थानीय तहबाट प्रत्यक्ष सहुलियतसहित सञ्चालन गरिएको हो। फार्मेसीले तिलोत्तमामा करिब २ करोड रुपैयाँभन्दा बढी लगानी गरेर सेवा सञ्चालनमा ल्याएको छ। स्थानीय तहमा यस प्रकारको फार्मेसी सञ्चालन गर्ने यो पहिलो पालिका भएको बताइएको छ।

सम्बन्धित शिर्षक :