संजीवनी टिचिङ हस्पिटल, घोराही–३ दाङमा ४ अर्बभन्दा बढी लगानीमा स्थापना भएको ३०० शैयाको अत्याधुनिक अस्पताल हो। अस्पतालमा जनरल फिजिसियन, हाडजोर्नी, प्रसूति तथा स्त्रीरोग, शिशुरोग, मानसिक तथा नसारोग, सर्जरीलगायत विशेषज्ञ सेवा उपलब्ध छन् भने निकट भविष्यमा कार्डियोलोजी, न्युरोलोजी र युरोलोजीजस्ता सुपर–स्पेसियालिटी सेवा सञ्चालन गरिने तयारी छ।
एमआरआई, सीटी स्क्यान, डिजिटल एक्स–रे, म्यामोग्राफी, एन्डोस्कोपी, कोलोनोस्कोपीसहित आधुनिक निदान सेवा तथा ६० शैयाको आईसीयू, एनआईसीयू, पीआईसीयू र एचडीयू सुविधा रहेको अस्पतालले दाङमै गुणस्तरीय उपचार उपलब्ध गराउने लक्ष्य लिएको छ।
साथै नर्सिङ, पारामेडिकल तथा भविष्यमा एमबीबीएस र बीडीएस कार्यक्रम सञ्चालन गर्ने योजना पनि रहेको प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले बताउनु भयो ।यसै बिषयमा संजीवनी टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत दीपक रोकासँग गरिएको स्वास्थ्य अन्तरवार्ता :
अस्पतालको परिकल्पना र हालको अवस्थाबारे प्रकाश पारिदिनुहोस् ?
संजीवनी टिचिङ हस्पिटल लामो अध्ययन र योजनाको निष्कर्षस्वरूप दाङको घोराही–३ मा ३०० शैयाको क्षमतासहित सञ्चालनमा आएको हो। ४ अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माण गरिएको यस अस्पतालका सञ्चालक अध्यक्ष खुमा प्रसाद अर्याल हुनुहुन्छ। उहाँको लगानीमा नेपालभर अस्पताल तथा मेडिकल कलेज गरी छ वटा संस्था स्थापना भइसकेका छन्, जहाँ १० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्।
अस्पतालमा उपलब्ध सेवाहरूबारे छोटकरीमा बताइदिनुहोस्?
हाल ३०० शैयासहित सञ्चालनमा रहेको यस अस्पतालमा जनरल फिजिसियन, हाडजोर्नी तथा नसारोग, प्रसूति तथा स्त्रीरोग, जनरल सर्जरी, मानसिक तथा स्नायुरोग, छाला तथा यौनरोग, शिशु तथा बालरोग, ईएनटी तथा फिजियोथेरापीलगायतका विशेषज्ञ सेवा उपलब्ध छन्। निकट भविष्यमा न्युरोलोजी, कार्डियोलोजी, युरोलोजीलगायतका सुपर–स्पेसियालिटी सेवासमेत सञ्चालनमा ल्याइनेछ।
डायग्नोस्टिक (चिकित्सकीय निदान) सेवातर्फ के–कस्ता सुविधा उपलब्ध छन्?
डायग्नोस्टिक सेवाअन्तर्गत—
क्लिनिकल प्रयोगशाला (ल्याब) सेवाहरू:
-रक्त परीक्षण
-मूत्र परीक्षण
-प्याथोलोजी तथा बायोप्सी
-माइक्रोबायोलोजी लगायत
डायग्नोस्टिक इमेजिङ सेवाहरू:
-डिजिटल तथा भिडियो एक्स–रे
-सीटी स्क्यान
-एमआरआई
-म्यामोग्राफी लगायत
कार्डियो–पल्मोनरी परीक्षणहरू:
-ईईजी
-ईसीजी
-इको (ECHO)
-टीएमटी
-पीएफटी लगायत
विशेष सेवाहरू:
-एन्डोस्कोपी
-कोलोनोस्कोपी लगायत
आईसीयू (ICU) क्षमता कति रहेको छ?
क्रिटिकल केयरतर्फ भेन्टिलेटरसहित कुल ६० शैया रहेका छन्। जसअन्तर्गत—-गम्भीर बिरामी वा घाइतेहरूको लागि आईसीयू (ICU)
समयपूर्व जन्मिएका वा बिरामी नवजात शिशुका लागि एनआईसीयू (NICU)बालबालिकाको सघन उपचारका लागि पीआईसीयू (PICU)
साथै सर्जिकल, कार्डियाक, ट्रमा तथा न्युरोलोजिकल बिरामीका लागि विशेषीकृत आईसीयू एकाइहरू निर्माणको चरणमा छन्। बिरामीको स्टेप–डाउन वा मध्यवर्ती उपचारका लागि महिला तथा पुरुषका छुट्टाछुट्टै एचडीयू (HDU) समेत सञ्चालनमा रहेका छन्।
शल्यक्रिया (अपरेशन) सेवाको अवस्था कस्तो छ?
अस्पतालमा हाल मोडुलर तथा सेमी–मोडुलर गरी ११ वटा अपरेशन थिएटर सञ्चालनमा छन्। सामान्यदेखि जटिल प्रकृतिका शल्यक्रियाहरू खुला तथा ल्याप्रोस्कोपिक (दूरबिन प्रविधि) माध्यमबाट गरिन्छन्। अस्पताल परिसरभित्रै ब्लड बैंकको सुविधा रहेकोले आवश्यक पर्दा बिरामीले सहज रूपमा रगत प्राप्त गर्न सक्छन्।
संस्थाको शैक्षिक योजना के रहेको छ?
निकट भविष्यमा नर्सिङ तथा पारामेडिकल विषयहरूको अध्यापन सुरु गरिनेछ। त्यसपछि करिब तीन वर्षभित्र एमबीबीएस र बीडीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।
आमा सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमा सेवाबारे के अवस्था छ?
आमा सुरक्षा कार्यक्रम तथा स्वास्थ्य बीमा सेवा हाल स्वीकृतिको प्रक्रियामा रहेका छन्। आवश्यक अनुमति प्राप्त भएपछि ती सेवाहरू पनि सञ्चालनमा ल्याइनेछ।
अब दाङका बिरामीहरू बाहिर रिफर हुनुपर्ने अवस्था कम हुन्छ?
अवश्य हुन्छ। नेपालगञ्ज र भैरहवामा उपलब्ध धेरैजसो विशेषज्ञ स्वास्थ्य सेवा अब दाङमै उपलब्ध छन्। त्यसैले बिरामीहरूले उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुनेछ। संजीवनी टिचिङ हस्पिटलमा विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय उपचारका साथै आवश्यक स्वास्थ्य परामर्श पनि उपलब्ध छ।

प्रतिकया दिनुहोस्