दूध तथा दुग्ध पदार्थको गुणस्तर र स्वच्छतामा विशेष ध्यान दिन आग्रह

स्वास्थ्यसमाचार/ दूध तथा दुग्ध पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित दूध, दही, घ्यू, पनिरलगायत दुग्धजन्य पदार्थको उत्पादन, भण्डारण, प्रशोधन तथा वितरणका सबै चरणमा स्वच्छता कायम गरिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

विश्व दूध दिवसको अवसरमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीअन्तर्गत गठित डेरी वस्तुगत समितिले मंगलबार आयोजना गरेको “दूध तथा दुग्ध पदार्थको स्वच्छता तथा गुणस्तर” विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले जनस्वास्थ्य संरक्षण र देशको समृद्धिका लागि दुग्ध व्यवसायमा असल अभ्यास अनिवार्य रहेको बताएका हुन्।

कार्यक्रममा संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालले किसानदेखि उपभोक्तासम्म दूध पुग्ने सम्पूर्ण प्रक्रियामा गुणस्तरीय मापदण्डको पालना हुनुपर्ने बताए। उनले उत्पादन लागतअनुसार किसानले उचित मूल्य पाउनुपर्ने र उपभोक्ताले पनि गुणस्तरीय दूध तथा दुग्ध पदार्थ सहज मूल्यमा प्राप्त गर्नुपर्नेमा जोड दिए।

“दूध र दुग्ध पदार्थको गुणस्तर हाम्रो प्रमुख सरोकारको विषय हो। यससँग नागरिकको स्वास्थ्य र देशको समृद्धि जोडिएको छ,” उनले भने।

संघका कृषि परामर्शदाता डा. प्रदीप शर्मा पौडेलले पशुको स्वास्थ्य, गोठको सरसफाइ, दुहुने प्रक्रिया, भण्डारण तथा ढुवानी व्यवस्थापनमा मापदण्ड पालना गर्नुपर्ने बताए। साथै दुग्ध उद्योगहरूले खाद्य सुरक्षा मापदण्डको पूर्ण कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।

लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु चिकित्सक लोकराज भुसालले सुरक्षित तथा पोषणयुक्त खाद्य सामग्री उपलब्ध गराउन सरकारी निकाय, किसान, उद्योगी तथा व्यवसायीबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले लुम्बिनी प्रदेश दूध उत्पादन र उपभोगका हिसाबले सक्षम भए पनि अब गुणस्तर सुधारमा केन्द्रित हुनुपर्ने धारणा राखे।

त्यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत अनुप हलवाईले खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित कानुनी व्यवस्था र मापदण्डबारे जानकारी गराएका थिए।

नेपाल दुग्ध विकास संस्थान, लुम्बिनी दुग्ध विकास आयोजनाका प्रमुख कृष्णप्रसाद अर्यालले उपभोक्तामा खाद्य सुरक्षाप्रतिको चेतना बढ्दै गएको उल्लेख गर्दै गुणस्तरीय र प्रमाणित उत्पादनको माग वृद्धि भएको बताए। उनका अनुसार स्वच्छता र गुणस्तरलाई प्राथमिकता दिँदा उपभोक्ताको विश्वास बढ्नुका साथै दुग्ध क्षेत्रको दिगो विकासमा समेत टेवा पुग्नेछ।

कार्यक्रममा सहभागीहरूले दुग्ध पदार्थमा हुन सक्ने जीवाणुजन्य संक्रमण, रासायनिक प्रदूषण तथा मिसावट नियन्त्रणका लागि नियमित गुणस्तर परीक्षण आवश्यक रहेको औँल्याएका थिए। कार्यक्रममा दुग्ध उत्पादन सहकारीका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :