स्वास्थ्यसमाचार/गुल्मी अस्पतालमा पहिलोपटक स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । विशेषज्ञ सेवा अभावका बीच पनि अस्पतालले बाह्य विशेषज्ञ टोलीको सहयोगमा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।
रेसुङ्गा नगरपालिका-८ निवासी ७१ वर्षीया तुल्सी विश्वकर्मालाई स्तन क्यान्सर देखिएपछि प्रारम्भिक उपचारका लागि गुल्मी अस्पतालमा चेकजाँच गरिएको थियो ।
थप उपचारका लागि उनलाई बुटवल रिफर गरिए पनि आर्थिक अवस्था कमजोर भएकाले बाहिर उपचार सम्भव नभएपछि पुन: गुल्मी अस्पतालमै शल्यक्रिया गरिएको गुल्मी अस्पतालका जनस्वस्थ्य निरीक्षक बोम अर्यालले बताए ।
अस्पतालले मासिक रूपमा लुम्बिनी प्रादेशिक अस्पतालबाट विभिन्न रोगका विशेषज्ञ चिकित्सक बोलाउने व्यवस्था गर्दै आएको छ । सोही कार्यक्रमअन्तर्गत आएका क्यान्सर रोग विशेषज्ञ डा. सन्जय पाण्डेको नेतृत्वमा तीन जना चिकित्सकको टोलीले तुल्सी विश्वकर्माको सफल शल्यक्रिया गरेको हो ।
अस्पतालका अनुसार शल्यक्रिया पूर्ण रूपमा सफल भएको छ । बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । शल्यक्रियामा संलग्न विशेषज्ञ डा. सन्जय पाण्डेले सीमित स्रोतसाधनका बाबजुद पनि गुल्मी अस्पतालमा यस्ता जटिल सेवा दिन सफल भएको बताए ।
उनले क्यान्सरजस्तो जटिल रोगको उपचारका लागि आवश्यक उपकरण र जनशक्ति सीमित हुँदाहुँदै पनि हामीले यहाँ शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको बताए ।
समयमै पहिचान र उपचार हुन सके बिरामीको ज्यान बचाउन सकिन्छ भन्ने यो उदाहरण भएको पाण्डेको भनाइ छ । शल्यक्रियापछि तुल्सी विश्वकर्माले आफ्नै जिल्लामै उपचार पाउँदा निकै खुसी लागेको बताइन् ।
बाहिर गएर उपचार गर्ने अवस्था नभएकाले यहीँ नि:शुल्क रूपमा उपचार पाउँदा जीवन नै बाँचेजस्तो लागेको बताइन । शल्यकिंया पछि पुन: अस्पतालमा पुगेर व्यवस्थापन र डाक्टरहरूलाई धन्यवाद दिइन् ।
गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले सीमित भौतिक संरचनाका बीच पनि अस्पतालले उच्चस्तरीय सेवा दिन प्रयास गरिरहेको बताए । नयाँ भवन नबनेको कारण हामी साँघुरा कोठाबाट पनि यस्ता खालका सेवा दिन सफल भएको बताए ।
अहिले गुल्मी अस्पतालमा हाडजोर्नी र बालरोग विशेषज्ञ सेवा प्रदान हुँदै आएको छ । अस्पतालमा मिर्गौला पीडित बिरामीको लागि हेमोडाइलाइसिस सेवा प्रदान हुँदै आएको छ ।
यसले गुल्मी अस्पतालमा सेवा ग्रहीको चाप बढ्दै गएको छ । अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले ग्रामीण क्षेत्रमै विशेषज्ञ सेवा विस्तार गर्ने लक्ष्यका साथ काम भइरहेको बताए ।
अस्पतालको भौतिक संरचना अझै पर्याप्त नहुँदा नहुदै पनि जटिल रोगका बिरामी उपचार जिल्लामै सम्भव हुन्छ भन्ने परिणाम दिन खोजेको पाण्डेले बताए । नयाँ भवन निर्माण नहुँदा केही समस्या भए विशेषज्ञ सेवा दिन तत्पर भइरहेको उनले बताए ।
सफल शल्यक्रियामा संलग्न विशेषज्ञ डा. सन्जय पाण्डेसहित तीन सदस्यीय चिकित्सक टोलीलाई गुल्मी अस्पताल विकास समितिले सम्मान गरेको छ ।
सफल उपचार प्राप्त गरेकी बिरामी तुल्सी विश्वकर्मालाई पनि अस्पताल प्रशासन र चिकित्सक टोलीले सम्मान गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् ।
गुल्मी अस्पतालमा विशेषज्ञ चिकित्सकको स्थायी व्यवस्था नहुँदा यस्ता सेवा नियमित रूपमा उपलब्ध हुन सकेको छैन । तर, मासिक रूपमा बाह्य विशेषज्ञ टोली ल्याउने पहलले जिल्लामै जटिल रोगको उपचार सम्भव हुन थालेको छ ।
आर्थिक रूपमा कमजोर बिरामीका लागि यस्तो सेवा जीवनदायी सावित हुँदै गएको छ ।अहिले गुल्मी अस्पतालको साढे पाँच तलाको नयाँ भवन निर्माण अन्तिम चरणमा पुग्न थालेको छ ।अनलाईन खबरबाट

प्रतिकया दिनुहोस्