डेंगु र जापानिज इन्सेफलाईटिसको बढ्दो जोखिम, पाल्पामा नियन्त्रण प्रयास तीव्र

स्वास्थ्यसमाचार/ पछिल्लो समय जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखिएका डेंगु र जापानिज इन्सेफलाइटिस जस्ता किटजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालय पाल्पाले सक्रियता बढाएको छ । जिल्लामा यी रोगहरूको बढ्दो जोखिमलाई मध्यनजर गर्दै कार्यालयले हालै सरोकारवाला निकायहरूसँग विशेष पैरवी कार्यक्रम गरेको छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले डेंगु र जापानिज इन्सेफलाईटिसको न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना फैलाउनु नै प्राथमिक आवश्यकता रहेको बताए । उनले यी रोगहरूका कारण नागरिकको स्वास्थ्यमा पर्न सक्ने गम्भीर असरबारे समयमै सतर्क रहन सबैलाई आग्रह गरे ।

सिनियर ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराईले डेंगुको ऐतिहासिक र प्राविधिक पक्षबारे प्रकाश पारेका थिए । नेपालमा डेंगु प्रमाणित भएको २२ वर्ष पुगिसकेको र विश्वमा वार्षिक करिब ५ करोड मानिस यसबाट प्रभावित हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उनले एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्य उपाय भएको बताए ।

विशेषगरी उज्यालो समयमा टोक्ने यो लामखुट्टेको अण्डा महिनौंसम्म जीवित रहने र संक्रमित लामखुट्टेबाट जन्मने नयाँ पुस्ताका लामखुट्टे समेत संक्रमित नै हुने भएकाले जोखिम उच्च रहेको उनको भनाइ थियो। उच्च ज्वरो आउने, आँखाको गेडी दुख्ने र हाडजोर्नीमा पीडा हुने जस्ता लक्षण देखिनासाथ स्वास्थ्य संस्था जान सुझाव दिँदै उहाँले ‘खोज र नष्ट गर’ अभियानलाई समुदायको संस्कार बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै, कार्यक्रममा जापानिज इन्सेफलाईटिसको वर्तमान अवस्थाबारे जानकारी दिँदै क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले यो रोग डेंगुभन्दा पनि घातक रहेको र यसको मृत्युदर उच्च रहेको बताए । क्यूलेक्स लामखुट्टेले टोकेर सुँगुर, बँगुर, हाँस र बकुल्लाबाट मानिसमा सर्ने यो रोगको जोखिम पाल्पामा पनि बढ्दै गएको देखिन्छ।

तथ्याङ्कअनुसार सन् २०२२ मा पाल्पामा एक जनामा देखिएको यो संक्रमण गत वर्ष रैनादेवी छहरा, तिनाउ, बगनासकाली र रामपुरका विभिन्न उमेर समूहका ४ जनामा पुष्टि भएको थियो। नेपालका करिब ६० जिल्लामा फैलिसकेको यो रोगका ९० प्रतिशत बिरामीमा सुरुवाती लक्षण नदेखिने भएकाले थप सावधानी अपनाउनुपर्ने न्यौपानेले बताए ।

रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिनु बुद्धिमानी हुने भन्दै विज्ञहरूले पूरा शरीर ढाकिने लुगा लगाउन, दिउँसो पनि झुलको प्रयोग गर्न र घर वरपर पानी जम्न नदिई सरसफाइमा विशेष ध्यान दिन समुदायलाई अपिल गरेका छन्। यो कार्यक्रमले जिल्लामा किटजन्य रोग नियन्त्रणका लागि सरोकारवालाहरूबीच समन्वय र सहकार्यको नयाँ मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :