स्वास्थ्यसमाचार/बुटवलका ३ स्थानमा घुम्ती शौचालय राखिने भएको छ । बुटवल उपमहानगरपालिकाले बुटवलको ट्राफिक चौक, अस्पताललाईन र राजमार्ग चौराहामा घुम्ती शौचालय राख्न लागेको हो ।
त्यसका लागि नगरपालिकाले आईतबार सञ्चालनको लागि जिम्मा पाएको बुटवल सेनेटरी प्रालिलाई सम्झौता तथा शौचालयको चाँपी हस्तान्तरण गरेको छ ।सम्झौता अनुसार ट्राफिक चौकको दुर्गा मन्दिरको पूर्वपट्टि, अस्पताल लाइनमा पुष्पलाल चोकको पूर्वपट्टि र राजमार्ग चौराहमा घुम्ती शौचालय रहनेछन् ।
सम्झौता तथा चाँपी हस्तान्तरण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले पैदल यात्री, यातायातको साधान प्रयोग गर्ने यात्रीहरुको लागि घुम्ती शौचालय प्रभावकारी हुने बताउनु भयो ।
उहाँले कुनै मेला महोत्सव वा सभा समारोहमा समेत लगेर प्रयोग गर्न मिल्ने गरी पहिलो चरणमा ३ वटा घुम्ती शौचालय स्थापना गरिएको र आगामी दिनमा अझ बढि बिस्तार गरिने बताउनु भयो ।
महिला, पुरुष र अपाङ्गता भएका व्यक्तिहरुको लागि समेत छुट्टाछुट्टै शौचालय व्यवस्था गरिएको यो घुम्ती शौचालय एउटाको ४० लाख मुल्यमा नगरपालिकाले खरिद गरेको पालिकाले जनाएको छ ।
व्यवस्थापन तथा सञ्चालनको लागि जिम्मा पाएको बुटवल सेनेटरी प्रालिका सञ्चालक यमबहादुर थापाले सम्झौतामा उल्लेख गरिएको अनुसार, कार्यविधिको पूर्ण पालना गरी घुम्ती शौचालय सञ्चालन गरिने बताउनु भयो ।
प्रतिकया दिनुहोस्