सैनामैनाको नीति कार्यक्रम :स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता,पाठेघर परीक्षण,स्तन क्यान्सर रोकथाम र नियन्त्रण गर्न शिविर

स्वास्थ्यसमाचार /रुपन्देहीको सैनामैना नगरपालिकाले स्वास्थ्य सुविधाको विस्तार तथा स्तरोन्नतीलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८/८९ का लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रम कोभिड नियन्त्रण, उपचार तथा स्वास्थ्य सेवाको विस्तार र विकासमा केन्द्रित रहेको छ ।

शनिबार सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामूलक पहुँच एवं गुणस्तर वृद्धिसँगै स्वास्थ्य क्षेत्रको पुनःसंरचना गरिने बताए ।

नगर प्रमुख कार्कीले आगामी वर्षभित्र नगरवासिहरुलाई खोप लगाउन आवश्यक प्रबन्ध मिलाईने उल्लेख गरे । यसैगरी पर्रोहा स्वास्थ्य चौकीलाई १५ सैय्यामा स्तरोन्नति गरि विशेषज्ञ सेवासहित अत्याधुनिक उपकरण र जशक्तिको व्यवस्था गरिने भएको छ ।

स्वास्थ्य संस्थाहरुमा व्यवस्थित फिबर क्लिनिक सञ्चालन गरिने नगर प्रमुख कार्कीले बताए । सालझन्डी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गर्ने र स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभुत स्वास्थ्य चौकी भवन निर्माण, कोभिड–१९ अस्थायी अस्पतालमा दक्ष जनशक्ति र उपकरण थप गरी आइसोलेशन निर्माण लगायलाई पनि नीति कार्यक्रमले प्राथमिकतामा राखेको छ । कोरोना महामारीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको व्यवस्था गरिने भएको छ ।

गर्भवती तथा सुत्केरी पोषण कोशेली कार्यक्रम, जेष्ठ नागरिकको घरमा स्वास्थ्य सेवा कार्यक्रम, हेलो आमा कार्यक्रम, गर्भवती, सुत्केरी आमाहरुलाई सुरक्षित स्वास्थ्य तथा परामर्श सेवा, महिलाहरूको नियमित पाठेघर परीक्षण, स्तन क्यान्सर रोकथाम तथा नियन्त्रण गर्न शिविर सञ्चालन लगायतका विषयहरुलाई पनि नीति कार्यक्रममा समेटिएको छ । नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र ८४ वर्ष उमेर काटेका जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य वीमाको व्यवस्था मिलाउने भएको छ ।

सम्बन्धित शिर्षक :