कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा

स्थानीय तहका स्वास्थ्यकर्मीको हकमा भने संघीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयको कोभिड-१९ म्यानेजमेण्ट आधारमा भत्ता

काठमाडौं/ सरकारले कोभिड–१९ को जोखिम भत्तालगायत कर्मचारी व्यवस्थापन र सो सँग सम्बन्धित औषधी एवं औषधी जन्य सामाग्रीको व्यवस्थापनका भन्दै केन्द्रीय अस्पताल, सातै प्रदेश र निजी अस्पताल गरी ७२ करोड २० लाख ४३ हजार ५ सय रुपैयाँ निकासा गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत कोभिड—१९ उपचार गरिरहेका १४ वटा सरकारी अस्पताल तथा प्रतिष्ठान, ७ वटै प्रदेश सरकार र १७ वटा निजी अस्पताललाई सो रकम निकासा गरेको हो ।

सरकारले १ जना सामान्य लक्षण भएका संक्रमितको दैनिक ३ हजार ५ सय रुपैयाँका दरले रकम उपलब्ध गराएको छ । ७ प्रदेशमा १२ हजार ८ सय ८८ जना संक्रमितको दैनिक ३ हजार रुपैयाँका दरले ९८ दिनको खर्च स्वरुप ६३ करोड, १५ लाख, १२ हजार रुपैयाँ निकासा गरिदिएको हो । जसमा संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी, संक्रमितको व्यवस्थापन, खाजा, खानासहितको रकम रहेको मन्त्रालयको योजना महाशाखाले जनाएको छ ।

त्यसैगरी, १४ वटा सरकारी अस्पताल तथा प्रतिष्ठानले १ हजार ६ सय ९० जना संक्रमितको उपचार गरेको र सो वापतको खर्च ८ करोड ४१ लाख ८६ हजार रुपैयाँ निकासा भएको छ । १७ वटा निजी अस्पतालले २ सय ५१ जना संक्रमितको उपचार गरेको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गरेका छन् ।

ती संक्रमितको उपचार गरेवापत उनीहरुलाई ६३ लाख ४५ हजार ५ सय निकासा गरिएको मन्त्रालयले जनाएको छ । निकासा गरिएको रकम असार मसान्तसम्म प्राप्त विवरणअनुसारको रहेको योजना शाखाका तथ्यांक अधिकृत सूर्यबहादुर कार्कीले बताए ।

स्थानीय तहमा काम गरेका स्वास्थ्यकर्मीको हकमा भने संघीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयको कोभिड—१९ म्यानेजमेण्ट इन्फर्मेसन सिष्टमको तथ्यांकका आधारमा कोरोना नियन्त्रण कोषमार्फत जोखिम भत्ता उपलब्ध गराइने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।                                                                                                                                  हेल्थआवाजबाट साभार गरिएको ।

सम्बन्धित शिर्षक :