बुटवलमा सुत्केरी र जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा

स्वास्थ्यसमाचार /कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा सुत्केरीलाई पोषणको अभाव हुन नदिन बुटवल उपमहानगर पालिकाले गर्भवती तथा सुत्केरीलाई पोषिला खानेकुरा वितरण सुचारु गरेको छ ।

लकडाउन (बन्दाबन्दी) मा नियमित स्वास्थ्य सेवाका अतिरिक्त बुटवलले विपन्न समुदायका गर्भवती र सुत्केरी महिलालाई घरमै पुगेर पोषण सामग्री प्रदान गरेको हो । बुटवलले आव ०७५/७६ देखि नै मुलुककै नमुना कार्यक्रमका रुपमा उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सुरु गरेको थियो ।

बुटवलले मुलुकमै पहिलोपटक सुरु गरेका मेयर युवा इलम कार्यक्रम, महिला उद्यमशिलता विकास कार्यक्रम संगै उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम अर्को नमुना र प्रभावकारी कार्यक्रम मानिएको छ ।महामारीका बेलामा जनस्वास्थ्यको हटलाइन सेवासंगै सबै वडाहरुलाई लक्षित गरेर विभिन्न ठाउँमा फिवर क्लिनिकसमेत सञ्चालनमा छन् ।

मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउन संवेदनशिल भएर लागिएको उपमहानगरलिकाका प्रमुख शिवराज सुवेदीले वताए ।

महामरीका विरुद्ध अभियानसंगै अहिले बुटवलले स्वास्थ्य सुरक्षाप्रवन्धसहित भौतिक दुरी कायम गरेर नगरका अति विपन्न समुदायका सुत्केरी तथा गर्भवती महिलालाई पोषण सामग्री प्रदान गरिरहेको उपप्रमुख गुमादेवी गुमादेवी आचार्यले जानकारी दिईन । लकडाउनको अवधिमा पनि ८१ जना आर्थिकरुपमा विपन्न तथा श्रमिक सुत्केरीहरुको घरमै पुगेर सेवा दिइएको छ ।

उनीहरुलाई क्याल्सियम आइरन, दशमुलारिष्ट आयुर्वेदिक औषधी, ध्यू, मेथी, ज्वानो, चामल लगायतका पौष्टिक आहारहरु उपलब्ध गराईएको छ । त्यसैगरी स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य चेकजाँच र परामर्श समेत दिइएको उपप्रमुख आचार्यले वताए ।

गर्भवती र प्रसूति अवस्थाका साथै बच्चा दुई वर्षको हुँदासम्म दूध, घ्यु, मासु, अण्डा, सागलगायत पोषिला खानेकुरा खानुपर्ने सन्देश पु¥याउन बुटवलले उपप्रमुख सुत्केरी तथा गर्भवती भेटघाट कार्यक्रम सञ्चालन गरेको थियो । गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्श समेत दिइएको छ ।

बुटवलका विभिन्न सहरी स्वास्थ्य केन्द्रहरुमार्फत आधुनिक ल्याब सेवासहितको प्राथमिक स्वास्थ्य सेवा सञ्चालनमा छन् । यस्ता सेवा सञ्चालन भएदेखि नै बुटवलमा सरकारी स्तरका स्वास्थ्य संस्थामा सेवाग्राहीको आकर्षण बढेको थियो ।

नगरका स्वास्थ्य संस्थाहरुबाट ४० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क सुगरको जाँच भइरहेको छ । यसखालको निःशुल्क सेवा मुलुकमै बुटवलले पहिलोपटक सुरु गरेको हो । यसअन्र्तगत करिब चार हजार जनाले यो सेवा लिइसकेको उपमहानगरको तथ्यांकमा छ ।

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरदैलोमै चौमासिक रुपमा पुगेर स्वास्थ्य चेकजाँच र निःशुल्क औषधि उपलब्ध गराउने स्थानीय तहमा बुटवल अग्रणी मानिन्छ ।

‘नगरप्रमुख ज्यष्ठ नागरिक घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण’ शीर्षकमा सुरु भएको यो कार्यक्रम अन्र्तगत दुई हजार भन्दा धेरै ज्येष्ठ नागरिकले सेवा लिएको उपमहानगरका शिक्षा तथा जनशंख्या महाशाखा प्रमुख मित्रमणि खनालले वताए ।

क्वारेन्टिन र आइसोलेशनमा पञ्चकर्म सेवा तथा योगा अभ्यास

महामारीकै समयमा बुटवलले क्वारेन्टिन र आइसोलशन सेन्टरमा योगाअभ्यास र आयुर्वेद ओखतीसमेत निशुल्क वितरण गरिरहेको छ ।
विश्व स्वास्थ्य संगठनले समेत सन्तुलित आहार विहार, तनावमुक्त जीवनशैली अपनाउँदै योगा र ध्यानका माध्यमबाट रोगप्रतिरोधी क्षमता बढाउन सकिने बताइरहेका बेलामा बुटवलमा भने सुरुदेखि नै यसखालका कार्यक्रम सञ्चालनमा छन् ।

स्कुले बालबालिकादेखि विभिन्न उमेर समूहकालाई योग र पञ्चकर्म सिकाइरहेका बेलामा अहिले महामारीका विरुद्ध उपयोगी विधिका रुपमा योगा सावित भएको योगा प्रशिक्षक विष्णुहरि आचार्य (योगीराज) को भनाइ छ ।

सम्बन्धित शिर्षक :