कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु

नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७ पुग्यो

स्वास्थ्यसमाचार/ नेपालमा कोरोना भाइरसको कारण थप १ जनाको मृत्यु भएको छ। दैलेख दुल्लु नगरपालिकका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।

दैलेख दुल्लु नगरपालिका ७ स्थित नेपाल विद्युत प्राधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा रहेका उनको शनिबार मृत्यु भएको हो
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले साँझ जारी गरेको प्रेस विज्ञप्ति अनुसार उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो।

‘कोभिड १९ सँग सम्बन्धित लक्षणहरु नभएको तथा आज बिहान ७ बजे एक्कासी ढल्नुभएको र केही समयमा उनको मृत्यु भएको साथै प्रयोगशाला परीक्षणमा नतिजा पोजिटिभ आएको,’ मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

ती व्यक्तिको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा नमुना परीक्षण गरिएको थियो। प्रतिष्ठानको अस्पतालका निर्देशक डा मंगल रावलका अनुसार ती व्यक्तिको मृत्यु हुनुभन्दा पहिला नै स्वाब संकलन गरिएको थियो।

‘उहाँको स्वाब १५ गते नै संकलन भएको हो,’ उनले भने, ‘मन्त्रालयको विज्ञप्तिमा केही त्रुटि भएकोले सच्याउने काम भइरहेको जानकारी आएको छ।’ मन्त्रालयको विज्ञप्तिमा मृत्युपछि स्वाब संकलन गरिएको उल्लेख छ।यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिएकाको मृत्युको संख्या ७ पुगेको छ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउसो सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ। संक्रमितमध्ये हालसम्म २१९ जना निको भइसकेका छन्।

सम्बन्धित शिर्षक :