स्वास्थ्यसमाचार/ प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनकै असरले भोटेकोशीमा बाढी आएर नेपालमा अपूरणीय क्षति गरेको कुरा अन्तर्राष्ट्रिय समुदायसमक्ष जानकारी गराउने काम भएको बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठकमा आज विशेष सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शाहले भोटेकोसी नदीमा आएको बाढी र भएको क्षतिबारेमा संसद बैठकलाई जानकारी गराउनुभयो । उद्धार र राहत व्यवस्थापनको काम निरन्तर जारी रहेको बताउँदै उहाँले भन्नुभयो, “बाढीबाट भएको क्षतिको पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगका लागि सरकारले आव्हान गरेको छ । सरकारले सबै किसिमको प्रयास जारी राख्नेछ ।”
विपद र विपदपछिको अवस्थाका बारेमा प्रदेश र स्थानीय सरकारसँग सहकार्य र समन्वय भइरहेको बताउँदै प्रधानमन्त्री शाहले विपदबाट माथि उठ्न सबैको हातेमालो र सहयोगको खाँचो औल्याउनुभयो । तत्काल गर्न सक्ने काम सरकारले गरेको छ, अब बाँकी गर्नुपर्ने कामका लागि पनि सरकार गम्भीर प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
“सुरुङको एउटा टनेलमा एक वा दुईभन्दा बढी स्काभेटर लगाउन सक्ने अवस्था छैन । भौगोलिक अवस्था र अन्य कारणले पनि सुरुङ्को टनेलको उत्खनन्मा धेरै स्काभेटर एकै ठाउँमा लगाउन सक्ने अवस्था नभएर उद्धारमा ढिलो भएको हो” उहाँले भन्नुभयो, “उद्धारमा संलग्न सबै पक्ष दिलोज्यान दिएर काम गरिरहनुभएको छ, उद्धार कार्यमा संलग्नहरुको प्रोत्साहन सबैले गर्नुपर्छ ।”
नेपाल सरकारले सबै संघ संस्था, सरोकारवाला निकाय, समाजसेवी, अन्तर्राष्ट्रिय दातृ निकाय सबैसँग आग्रह र आव्हान गरेको बताउँदै प्रधानमन्त्री शाहले सबैसँगको सहकार्य र समन्वय सरकारले आज पनि गरेको छ, भोलि पनि गर्छ भन्नुभयो ।
प्रधानमन्त्री शाहले भोटेकोसी बाढीले गर्दा ज्यान गुमाउनु भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो । शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दे घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । आफन्तहरु बेपत्ता भएका परिवारजनको दुःख र पीडा आफूलाई गहिरोसँग महुशस रहेको बताउनुभएको छ ।


प्रतिकया दिनुहोस्