पाचौं दिन सम्म उठेन कोरोना अस्पतालमा मृत्यु भएका थापाको शब

न्याएनपाएसम्म शब नबुझ्ने पत्नीको अडान, तिन दलद्धारा छानवीन राहत दिन माग

स्वास्थ्यसमाचार २० चैत्र/ बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालको आइसोलेसन वार्डमा उपचारका क्रममा भएको ३४ वर्षिय बाबुराम थापाको मृत्यु प्रकरण बल्झिने देखिएको छ ।

उपचारमा अस्पतालको लापरवाहीका कारण पतिको मृत्यु भएको भन्दै पत्नी रिता थापाले न्याय नपाउंदासम्म शब नबुझ्ने अडान लिएकी छन् । बाबुरामको शब पाँच दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालको सवगृहमा रहेको छ ।

यसबीचमा प्रमुख विपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न संघसंस्थाले थापाको उपचार प्रकृयाको स्वतन्त्र र सर्वपक्षीय समितिमार्फत छानवीन गर्न र पीडित परिवारलाई उचित राहत दिन माग गरेका छन् ।

समाजवादी पार्टी प्रदेश ५ समितिले ‘कोरोना विशेष’ नामाकरण गरिएको अस्पतालमा आवश्यक उपचार सामग्रीको उचित व्यवस्था नहुंदा विरामीले राम्ररी उपचार नपाई ज्यान गुमाउनुपरेको भन्दै यसमा सरकारको लापरवाही भएको ठहर गरेको छ ।

पार्टीका प्रदेश अध्यक्ष अशोक यादवले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना रोकथामका लागि १२ वटै जिल्लाको सूचना संकलन,विश्लेषण र रणनीति बनाउन, अनुगमन गर्न, व्यवस्थापनमा देखिएको फितलोपन अन्त्य गर्न, खर्च व्यवस्थापन पारदर्शी बनाउन सर्वपक्षीय प्रदेशस्तरीय समिति बनाउन माग गरेका छन ।

समाजवादी पार्टीले कोभिड–१९ को संभावित जोखिमको अवस्थामा उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीका लागि ५० लाखको वीमा र तलब स्केल बराबरको भत्ताको व्यवस्था सहित प्याकेज ल्याउन पनि प्रदेश सरकारसंग माग गरेको छ ।

नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले पनि थापाको मृत्युमा अस्पताल र चिकित्सकको लापरवाही देखिएको भन्दै निष्पक्ष छानवीन गरी दोषीलाई कारवाही, पीडित पक्षलाई उचित राहतको व्यवस्था गर्न माग गरेको छ ।

नगर सभापति खेलराज पाण्डेले बिहीबार विज्ञप्तिमार्फत यस्तो माग गरेका हुन । उनले लकडाउनको मारमा परेकालाई राहत वितरण एकलौटी नगरी सर्वदलीय र सर्वपक्षीय समितिमार्फत गर्न, स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउन र मनोबल उच्च राख्न सहयोग गर्न तथा एम्बुलेन्स चालकलाई पनि स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाई सेवामा अवरोध आउन नदिन प्रदेश र स्थानीय सरकारहरुको गम्भीर ध्यान जानुपर्ने माग गरेका छन ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल उपमहानगर समिति अध्यक्ष निरजप्रताप खांणले पनि कोरोना अस्पतालमा लापरवाहीको कारण ज्वरोका विरामी थापाको मृत्यु हुन गएको भन्दै निष्पक्ष छानवीन गरी दोषीलाई कारवाही र पीडितलाई राहत दिन माग गरेका छन ।

यस अघि क्षत्री युवा समाज प्रदेश ५ ले पनि थापाको मृत्युमा अस्पतालको लापरवाही भन्दै पीडित पक्षको माग सम्बोधन गर्न सरकारसंग माग गरेको थियो । ज्वरोको समस्याका कारण चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका पाल्पा रिब्दिकोट ५ कुसुमखोला घर भई सैनामैना–४ मा बस्दै आएका थापालाई धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पताल मातहत सञ्चालित अस्पतालमा भर्ना भएको चौथो दिन थापाको चैत १६ गते मृत्यु भएको थियो । उनको मृत्यु भएको दिन मात्रै स्वाब परीक्षणका लागि काठमाडौ पठाइएको र दोस्रो दिन मात्रै नेगेटिभ रिपोर्ट आएको थियो । थापाको मृत्युपछि अस्पतालको लापरवाही भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

सम्बन्धित शिर्षक :