बिक्रीका लागि बुटवल ल्याइएको काउलीमा अत्यधिक भेटियो विषादी

स्वास्थ्यसमाचार/ बुटवलको थोक बजारमा बिक्रीका लागि राखिएको काउलीमा अत्यधिक मात्रामा विषादी प्रयोग गरेको भेटिएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलले थोक बजार केन्द्रमा शुक्रबार बिहान हरियो तरकारी तथा फलफूलको नमुना परीक्षण गर्दा अत्यधिक विषादी प्रयोग गरेको पाइएपछि २२ किलो काउली नष्ट गरिएको छ ।

रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाबाट बुटवल कृषि उपज थोक बजार बजारमा बिक्रीका लागि ल्याइएको काउलीमा अर्गानोफस्फेट समूहको विषादीको मात्रा ८०.८९ प्रतिशत भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलका नायब प्राविधिक सहायक राजीव भण्डारीले जानकारी दिए ।

‘सामान्यतः कुनै पनि तरकारीमा कार्वामेट र अर्गानोफस्फेट समूहको विषादी मात्रा ३५ प्रतिशतभन्दा कम भएमा खान योग्य मानिन्छ । ३५ प्रतिशतदेखि ४५ प्रतिशत भएमा केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गरी खान मिल्ने र विषादीको मात्रा ४५ प्रतिशत भन्दा बढी देखियो भने त्यसलाई खान योग्य मानिँदैन र नष्ट गर्नुपर्छ ।’, उनले भने ।

काउलीसँगै काँक्रो, सिमी, भान्टा, बोडी, घिरौला, गाँजर, गोलभेँडा, तनेबोडी, तितेकरेला, भिण्डी र डल्ले खुसार्नीको नमुना परीक्षण गरिएको नायब प्राविधिक सहायक भण्डारीले बताए । परीक्षण गरिएको अन्य तरकारीमा विषादीको मात्रा सामान्य भेटिएको उनले जानकारी दिए । विषादीयुक्त काउलीलाई बुटवल उपमहानगरपालिकासँगको समन्वयमा नष्ट गरिएको छ । हरेक दिन थोक बजारमा आउने तरकारी तथा फलफूलको बिहानै विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले नमुना संकलन गरी परीक्षण गर्दै आएको छ । तर, बुटवलको थोक बजार भन्दा बाहीरबाट बिक्री हुने तरकारीमा विषादी परीक्षण हुन सकेको छैन ।

यसअघि गत चैत अन्तिम साता चितवनबाट बुटवल कृषि उपज थोक बजारमा ल्याइएको तने बोडीमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो । केही दिन अघि मात्रै काँक्रोमा पनि अत्यधिक मात्रामा विषादी भेटिएपछि ५ सय किलो काँक्रा नष्ट गरिएको थियो । विषादीले मानव स्वास्थ्यमा गम्भिर असर गर्छ भन्ने जानकारी हुँदाहुँदै पनि पछिल्लो समय किसानले छिटो उत्पादन गरी आम्दानी गर्ने उद्देश्यले तरकारी र फलफूलमा अत्यधिक मात्रामा विषादी प्रयोग गर्ने गरेको पाइन्छ ।

सम्बन्धित शिर्षक :