स्वास्थ्यसमाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवलले न्यूनतम सेवा मापदण्ड (MSS) मूल्याङ्कनमा सुधार गर्दै लगातार उत्कृष्ट नतिजा हासिल गरेको छ।
स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेशद्वारा २०८३ वैशाख १३ र १४ गते सम्पन्न मूल्याङ्कनमा चिकित्सालयले ८०.२५ अंक प्राप्त गरेको हो।आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा अस्पतालमा उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्तिबारे जानकारी गराइएको थियो।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय लुम्बिनीका आयुर्वेद शाखा प्रमुख डा. बिभाकर ठाकुरले चिकित्सालयले सेवा प्रवाह, व्यवस्थापन र गुणस्तर सुधारका सूचकहरूमा राम्रो प्रदर्शन गरेको बताउनुभयो। उहाँले पूर्वसूचना बिना गरिएको मूल्याङ्कनमा समेत राम्रो नतिजा आउनु सकारात्मक रहेको उल्लेख गर्दै स्रोत र बजेट अभाव समाधानतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो।

जिल्ला आयुर्वेद औषधालय कपिलवस्तुका प्रमुख तथा MSS परीक्षक डा. नलिननाथ तिवारीले सीमित स्रोतसाधनका बाबजुद पनि चिकित्सालय ले उत्कृष्ट सेवा दिइरहेको बताउँदै संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) गरी जनशक्ति व्यवस्थापन आवश्यक रहेकोमा जोड दिनुभयो।
उहाँले शल्यचिकित्सा, योग उपचार, प्रोटोकल फार्मेसी, मेन्टेनन्स र लगबुक व्यवस्थापनमा थप सुधार आवश्यक रहेको सुझाव पनि दिनुभयो।
चिकित्सालय प्रमुख डा. कलावती विश्वकर्माले कर्मचारीहरूले निर्धारित ८ घण्टाको सट्टा १८ घण्टासम्म सेवा दिइरहेको उल्लेख गर्दै सेवा विस्तार का लागि जनशक्ति, पूर्वाधार र आर्थिक व्यवस्थापन आवश्यक रहेको बताउनुभयो।
उहाँले आगामी दिनमा अझ प्रभावकारी, गुणस्तरीय र जनमैत्री सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। चिकित्सालय चिकित्सक डा. सन्दीप कार्कीले अस्पतालको वर्तमान अवस्था, सेवा र चुनौतीबारे जानकारी दिँदै चालु आर्थिक वर्षमा ७३ हजारभन्दा बढीले सेवा लिएको बताउनुभयो।
उहाँले नेपालका साथै छिमेकी भारतबाट समेत सेवाग्राही आउने गरेको जानकारी दिनुभयो।अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शालिक राम भुसालले सीमित स्रोतसाधनका बाबजुद उत्कृष्ट नतिजा हासिल हुनुमा कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।
उहाँले व्यवस्थापन समिति, कर्मचारी तथा सहयोगी सबैको समन्वयले अस्पताललाई उत्कृष्ट बनाइरहेको उल्लेख गर्नुभयो।कार्यक्रमको सञ्चालन सूचना अधिकारी गणेश सापकोटाले गर्नुभएको थियो भने कार्यक्रम अध्यक्ष शालिकराम भुसाल रहनुभएको थियो।


प्रतिकया दिनुहोस्