स्वास्थ्यसमाचार/ गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पुस १० गतेदेखि आफ्नो १२औँ वर्षमा प्रवेश गर्दैछ। सोही अवसरको पूर्वसन्ध्यामा अस्पतालले सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा अस्पतालका अध्यक्ष एजाज आलमले अस्पतालले लुम्बिनी प्रदेश मात्र नभई गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई समेत सेवा दिँदै आएको बताउनुभयो। उहाँका अनुसार हालसम्म ४२ जिल्लाका नागरिकले अस्पतालबाट प्रत्यक्ष स्वास्थ्य उपचार सेवा लिएका छन्।
अध्यक्ष आलमका अनुसार अस्पतालले स्थापना यता हालसम्म मुटु, मिर्गौला तथा जनरल फिजिसियन सेवामार्फत ५ लाखभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिसकेको छ।
उहाँले चालु आर्थिक वर्षमा मुटु तथा मिर्गौलाका बिरामीको उपचार गरेबापत नेपाल सरकारबाट प्राप्त हुनुपर्ने २० करोड ३९ लाख ३१ हजार ७८९ रुपैयाँमध्ये हालसम्म जम्मा २ करोड ५८ लाख २२ हजार ५ सय रुपैयाँ मात्र प्राप्त भएको जानकारी दिनुभयो।
बाँकी रकम पुस मसान्तसम्म भुक्तानी नभए माघ १ गतेदेखि निःशुल्क उपचार सेवा रोक्न बाध्य हुने उहाँले चेतावनी दिनुभयो। अस्पतालले सीमित स्रोत र साधनका बाबजुद पनि विपन्न तथा आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै अध्यक्ष आलमले समयमै सरकारी भुक्तानी नआए सेवा सञ्चालनमा गम्भीर समस्या पर्ने बताउनुभयो।

प्रतिकया दिनुहोस्