स्वास्थ्यसमाचार/फलफूल तथा तरकारी उत्पादन बढाउने नाममा जथाभावी किटनाशक विषादीको प्रयोग र त्यसको प्रभावकारी नियमन नहुँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
पर्याप्त जानकारी र सचेतनाको अभावमा किसानले किटनाशकलाई औषधिको रूपमा प्रयोग गर्दा क्यान्सर, स्नायु रोग, हर्मोन असन्तुलनजस्ता गम्भीर रोगको जोखिम बढ्दै गएको उनीहरूको भनाइ छ। छोटो समयमै उत्पादन र आम्दानी बढे पनि यसको अनियन्त्रित र अत्यधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा दीर्घकालीन क्षति पु¥याइरहेको विज्ञहरूको ठहर छ।
रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा जारी १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को अवसरमा मंगलबार आयोजित ‘नेपालमा कृषि उत्पादन, मानव स्वास्थ्य तथा वातावरणमा किटनाशकको प्रभाव’ विषयक कार्यशाला गोष्ठीमा सहभागी विज्ञहरूले जैविक विषादी र वैकल्पिक उपायलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका हुन्।
कार्यक्रममा प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षक अधिकृत मनोज पोखरेल, कृषि निर्देशनालयका बाली संरक्षक अधिकृत मिलन गैरे र राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवाका वरिष्ठ अधिकृत खेमराज पन्तले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। साथै पैंचो पसल प्रा.लि.का कार्यकारी प्रमुख केशव न्यौपाने, लुम्बिनी कृषि थोक बजारका कार्यकारी प्रमुख रामबहादुर खत्री, पत्रकार दामोदर खनाल र पक्लिहवा कृषि क्याम्पसका प्रमुख रुक्मागत पाठकले टिप्पणी गर्नुभएको थियो।
वरिष्ठ बाली संरक्षक अधिकृत पोखरेलले निरन्तर एउटै प्रकारको किटनाशक प्रयोग गर्दा कीरामा प्रतिरोध क्षमता विकास भई झन् बलिया र महँगा रसायन प्रयोग गर्नुपर्ने अवस्था सिर्जना हुने बताउनुभयो। “यसले माटोमा रहेका लाभदायी सूक्ष्म जीव नष्ट गर्छ, उर्वराशक्ति घटाउँछ र किसान रसायनको दुष्चक्रमा फस्छन्,” उहाँले भन्नुभयो।
कृषि निर्देशनालयका अधिकृत मिलन गैरेका अनुसार किटनाशकको असर किसान, खेत मजदुर र उपभोक्ता सबैमा पर्छ। “छालामा सिधा सम्पर्क, सासमार्फत वा खानामा रहेको अवशेषबाट विषादी शरीरमा प्रवेश गर्छ। तत्काल टाउको दुख्ने, वाकवाकी, चक्कर आउने जस्ता समस्या देखिन्छ भने दीर्घकालमा क्यान्सर, प्रजनन क्षमतामा कमी र बालबालिकाको विकासमा नकारात्मक असर पर्छ,” उहाँले बताउनुभयो।
अनुसन्धानकर्ता शारदा पाण्डेले किटनाशकले जैविक सन्तुलनमा ठूलो खलल पु¥याउने बताउँदै मौरी, चरा, माछाजस्ता उपयोगी जीव नष्ट हुँदा परागण प्रक्रिया प्रभावित भई कृषि उत्पादनमै दीर्घकालीन असर पर्ने बताउनुभयो। पानी र माटो प्रदूषित हुँदा मानव र वन्यजन्तु दुवै जोखिममा पर्ने उहाँको भनाइ छ।
वरिष्ठ अनुसन्धान अधिकृत खेमराज पन्तले किटनाशकको पूर्ण निषेध सम्भव नभए पनि विवेकपूर्ण, सुरक्षित र वैकल्पिक उपायसँग जोडेर प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। “एकीकृत कीट व्यवस्थापन, जैविक कृषि, सहि मात्रा र सहि समयमा प्रयोग तथा किसान–उपभोक्तामा चेतना अभिवृद्धि आजको आवश्यकता हो,” उहाँले भन्नुभयो।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष तेजकुमार पाठकले विषादीको व्यापार घटाउन, उपभोक्ता सचेतना बढाउन र नियामक निकायले नियमित अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघले कृषि, पर्यटन र प्रविधिलाई प्राथमिकतामा राख्दै यस्ता सचेतनामूलक कार्यक्रम अघि बढाएको जानकारी दिइयो।

प्रतिकया दिनुहोस्