तिलोत्तमाका सार्वजनिक ठाउमा सुर्तीजन्य पदार्थ सेवन निषेध

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले सुर्ती, गुड्खा, चुरोटको सेवनलाई सार्वजनिक स्थलमा निषेध गरेको छ । सार्वजनिक स्थल, सडक, चोकमा गुड्खा र सुर्तीका खोल फाल्ने क्रम नरोकिएपछि नगरपालिका यसका प्रयोगकर्ताहरुप्रति कडा रुपमा प्रस्तुत भएको हो ।

नगरपालिकको पछिल्लो कार्यपालिका बैठकले सार्वजनिक स्थलमा धुर्मपान एवं सुर्तीजन्य पदार्थलाई निषेध गर्दै कसैले सार्वजनिक स्थलमा धुर्मपान एवं सुर्तीजन्य पदार्थ सेवन गरेमा कारवाही गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले कारवाहीको अधिकार टोल विकास संस्था समेतलाई प्रत्यायोजन गरेको छ । अधिकार प्रत्योजनसँगै सार्वजनिक स्थलमा धूममान एवं सुर्तीजन्य पदार्थ प्रयोग गर्नेलाई टोल विकास संस्थाले जरिवाना तिराउन सक्नेछन् । नगरपालिकाको कार्यविधिमा फोहोर जथाभावी फ्याक्नेको विषयमा सप्रमाण उजुरी गर्ने सूचकलाई जरिवाना गरिएको रकमको २५ प्रतिशत र ७५ प्रतिशत टोल विकास संस्थाको कोषमा रहने व्यवस्था छ ।

पछिल्लो समय नगरपालिकामा जथाभावी फोहोर फाल्नेहरु धमाधम कारवाहीको दायरमा आउन थालेका छन् । केही दिन अघि वडा नं. १४ मा जथाभावी फोहोर फाल्नेलाई ५ हजार जरिवाना तिराइएको थियो भने केही समय पहिले सार्वजनिक स्थानमा फोहोरो फाल्ने व्यापारिक प्रतिष्ठानलाई ६० हजार जरिवाना गरिएको थियो ।

मुलुकमा पहिलो पटक शुन्य पोलिथिन तथा पूर्णसरफाई उन्मुख नगरपालिका घोषित तिलोत्तमाले जथाभावी फोहोर गर्नेहरुलाई कारवाहीमार्फत् सचेत गराउन थालेको छ । तिलोत्तमामा २०७४ साउनदेखि नियमित सरसफाई अभियान चल्दै आएकोमा सातमहिनायता शुन्य पोलिथिन अभियान चलेको छ ।

यहाँ मेरो खल्ती, मेरो पहिलो डष्टबिन को अवधारणा कार्यान्वयनमा छ । केही समयअघि संघीय सरकारले सार्वजनिक स्थानमा धुर्मपान एवं सुर्तीजन्य पदार्थ निषेध गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको थियो । संघीय कानुनले सार्वजनिक स्थानमा धुम्रपान एवं सुर्तीजन्य पदार्थ प्रयोग गर्न रोक लगाएकोले तिलोत्तमाले त्यसलाई कार्यान्वयमा कडाई गर्न लागेको हो ।

यो निर्णयसँगै अब कसैले सरकारी वा सार्वजनिक कार्यालय, विद्यालय, कलकारखाना, सडक, प्रतीक्षालय मठमन्दिर, डिपार्टमेन्टल स्टोर, रंगशाला लगायत मान्छे भेला हुने ठाउँमा धुर्मपान र सुर्ती सेवन गर्न पाउने छैनन् ।

सम्बन्धित शिर्षक :