आन्दोलनमा जलेपछि स्वास्थ्य मन्त्रालय नयाँ भवन खोज्दै, सिंहदरबार वा परिषद्को भवन विकल्पमा

स्वास्थसमाचार/आफ्नो भवन पूर्ण रुपमा जलेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीलाई भौतिक रुपमा उपस्थित भई दैनिक कामकाज गर्न समस्या परिसकेको छ । त्यसैले मन्त्रालयले कार्यालय सञ्चालनका लागि नयाँ स्थान (भवन) को खोजी सुरु गरेको छ ।

सो क्रममा उसले आफ्ना दुई विकल्प सहित भवन खोजी कार्य अघि बढाएको बताएको छ । स्वास्थ्य सचिव डा विकास देवकोटाका अनुसार पहिलो विकल्पमा स्वास्थ्य मन्त्रालयलाई अब सिंहदरबार भित्रै सार्ने भन्ने योजना बनेको छ ।

दोस्रो विकल्प भने तत्काल काम चलाउनका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदको बन्दै गरेको नयाँ भवनलाई प्रयोग गर्ने कि भन्ने पनि छ । मन्त्रालय सार्ने भनिए पनि अहिले मन्त्रालयका एउटा सामान पनि सार्नु चाँही पर्दैन । किनभने सबै सामान जलिसकेको छ । जहाँ कार्यालय बन्छ, त्यहि नै आवश्यकता अनुसार कार्यालयका लागि सामान जुटाउनु पर्ने हुन्छ ।

स्वास्थ्य सचिव डा देवकोटा आफूहरुको प्राथमिकता सिंहदरबार भित्रै मन्त्रालय सार्नु रहेको बताउँछन् । ‘आखिर ढिलो चाँडो सिंहदरबार भित्रै जानु पर्ने छ । अहिलेको भवन कामै नलाग्ने गरी जलेपछि अब भित्रै नै एउटा भयो भने सजिलो हुन्थ्यो भन्ने हो । त्यता मिलेन भने अहिले बनेर निर्माण सम्पन्नको क्रममा रहेको परिषद्को नयाँ भवनबाट पनि काम गर्नु पर्ने हुनसक्छ,’ उनले भने ।

मन्त्रालयले परिसरमै रहेको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाई भने वीर अस्पतालमा सारि सकेको छ । ‘वीरको सर्जिकल भवनमा एउटा कोठाबाट एचईओसी चलाइएको छ ।

अब त्यो त्यहिबाट चल्छ,’ सचिव डा. देवकोटाले भने । जेन जी आन्दोलनको दोस्रो दिन २४ भदौको दिउसो २ बजेसम्म मन्त्रालयमा कर्मचारीहरुले काम गर्दै थिए । तर एकाएक ठूला सरकारी भवन जलाउँदै हिडेको एक हुल भिड स्वास्थ्यमा पनि छिरयो तोडफोड गर्दै आगो लगायो ।

मन्त्रालयको अगाडी पछाडी घुमी घुमी आगो लगाउँदै त्यहाँका गाडीहरु समेत जलाई रहँदा पछाडी पट्टी रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवन भने जल्नबाट जोगिएको छ । त्यहाँ सामान्य तोडफोड र लुटपाट भएको परिषद्ले जनाएको छ ।

सम्बन्धित शिर्षक :