स्वास्थ्यकर्मीले दबाबमा काम गर्न सक्दैनन् : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुरातन अभ्यास परिवर्तन गर्नुपर्ने बताएका छन् । स्वास्थ्य सेवा दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य सेवा सहज उपलब्ध हुने अवस्था सिर्जना भएपनि प्रभावकारी बनाउन नसकिएको स्वीकार गरे ।

‘आज स्वास्थ्य सेवा एकदमै फितलो अवस्थामा छ, परिणामै दिन नसक्ने स्थितिमा छ, स्वास्थ्य क्षेत्रमा सेवा उपलब्ध हुनै नसकेको भन्ने होइन । सेवा उपलब्ध हुने स्थिति बनेको छ तर पूर्ण हुने अवस्था छैन ।

प्रभावकारी हुन सकेको छैन, व्यवस्थित हुन सकेको छैन । आजको चुनौती भनेको स्वास्थ्य सेवालाई प्रभाकारी र व्यवस्थित बनाउने हो । त्यसैले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने सन्दर्भमा हामीले जे अभ्यास गर्दै आइरहेका छौँ, त्यो अभ्यासलाई कतिपय सन्दर्भमा बदल्नु जरुरी छ,’ उनले भने ।

स्वास्थ्यमन्त्री पौडेलले विशिष्ट क्षमता भएका व्यक्तिले मात्रै स्वास्थ्य सेवा दिनसक्ने बताए । उनले स्वास्थ्यकर्मीले दबाबमा काम गर्न नसक्ने भन्दै दबाबमुक्त भएर काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

‘यो काम अलि दुःख पनि हुन्छ । डाक्टर नर्सले दबाबमा गर्न सक्दैनन् । मैले त्यो काम गर्न सक्तिन, कसैले ब्लड झिकिरहेको देख्दा मलाई डर लाग्छ । तर म जस्तै मान्छेले त्यो काम गर्छ । अपरेसन गर्छ, ब्रेन र मुटुको अपरेसन गर्छ । त्यसैले यो काम दबाबमा गर्न सकिँदैन । उहाँहरूलाई दबाबमुक्त बनाउनुपर्‍यो । काम गर्ने वातावरण बनाउनुपर्‍यो,’ उनले भने ।

 

सम्बन्धित शिर्षक :