पक्षघातको उपचारका औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्रीको घोषणा

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारका लागि दुर्लभ र महँगो औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गर्नुभएको छ । उहाँले अमेरिकाबाट प्राप्त सहयोगमा संघीय र प्रदेश अस्पतालमार्फत यस्तो औषधि वितरण गरिने जानकारी दिनुभयो । बिहीबार पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले पक्षघातका कारण हरेक वर्ष झण्डै आठ सय जनाको ज्यान जाने गरेकाले औषधी उपलब्ध गराएर जीवनरक्षा गर्न सरकार कटिबद्ध रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘उपचार सम्भव भए पनि दुर्लभ र महँगो औषधी नपाउँदा धेरैले ज्यान गुमाएका छन् । यसलाई रोक्न सरकारले औषधी प्राप्त गरेर निःशुल्क वितरणको व्यवस्था मिलाएको छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघातको जोखिम उच्च हुन्छ । यस्तो अवस्थामा थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्राले जीवन बचाउन प्रभावकारी भूमिका खेल्ने चिकित्सकहरूले बताउँदै आएका छन् । नेपालमा यस औषधीको एक मात्राको मूल्य झण्डै एक लाख ३८ हजार पर्छ, जसले गर्दा धेरै बिरामीले उपचार पाउन सकेका छैनन् ।

अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र मन्त्रालयबीच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको छ । संस्थाले पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताउनुभयो ।

मन्त्रालयले यी औषधी वितरण र उपचारको व्यवस्थाका लागि निर्देशिका बनाउने प्रक्रिया पनि अघि बढाइसकेको छ । पक्षघातको औषधि र उपचार हुने निर्देशिका संघीय र प्रदेश अस्पतालहरूमा लागू हुनेछ । यो उपलब्धि नेपालको स्वास्थ्य उपचार सेवामा महत्वपूर्ण भएको न्यूरो चिकित्सक डा। राजु पौडेलले बताउनुभयो ।

युवा जनशक्ति विदेशिएको प्रति चिन्ता व्यक्त
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जनशक्ति उत्पादनमा राज्यले लगानी गरे पनि नेपालमै बसेर काम गर्ने परिस्थिति नभएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । राज्यले लगानी गरेर छात्रवृत्तिमा जनशक्ति उत्पादन गरे पनि यो देशमा नबस्ने चुनौती रहेको उहाँको भनाइ छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले जनशक्ति उत्पादनमा कछुवा गतिमा काम भइरहेको बताउनुभयो ।

दक्ष जनशक्तिलाई बाधा व्यवधानसँगै मिलेर समाधान गर्दै देशमै सेवा गर्न तयार हुन उहाँको अनुरोध छ । ‘नेपालमै बस्ने परिस्थिति कसरी निर्माण गर्न सकिन्छ रु देशमा बस्ने वातावरण कसरी बनाउन सकिन्छ रु हामी सहकार्य गर्न तयार छौँ,’ उहाँले भन्नुभयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको स्तरोन्नतिमा कुनै कसर बाँकी नराख्ने मन्त्री पौडेलको दाबी छ ।

सम्बन्धित शिर्षक :