सिद्धार्थनगरमा लागुऔषध बिरुद्ध विद्यार्थीलाई अभिमुखीकरण

स्वास्थ्यसमाचार/सिद्धार्थनगरले लागुऔषध बिरुद्ध विद्यार्थीहरुलाई अभिमुखीकरण सुरु गरेको छ ।सिद्धार्थनगर नगरपालिका अन्तरगत सामुदायीक विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागी लागुऔषध नियन्त्रण सम्वन्धी अभिमुखीकरण बिहीबारदेखि सुरु गरीएको हो ।

सिद्धार्थनगर नगरपालिका वडा नं १ स्थित बेलहिया माविबाट सुरु गरीएको अभिमुखीकरण उद्घाटन गर्दै नगर प्रमुख इस्तियाक अहमद खाँले कक्षा ९ र १० मा अध्यन गर्दा विद्यार्थीहरु बहकाउ परेर लागुऔषध दुर्व्यसनमा पर्नसक्ने भएकाले सोको रोकथामका लागी अभियान सुरु गरीएको बताए ।

उनले विद्यार्थीहरुको अनुसार महत्वपुर्ण गहना भएको उल्लेख गर्दै भविश्यमा सवल, सक्षम एवं सफल ब्यक्ति बन्न लागुऔषध सेवनबाट टाढै रहनु पर्ने बताए ।नगर उप प्रमुख एवं कार्यक्रमकी अध्यक्ष उमा अधिकारीले  यो उमेर चञ्चल एवं अधैर्यताको बेला भएकाले बढी भन्दा बढी सचेत हुनु पर्नेमा जोड दिइन ।

उनले कतिपय अवस्थामा साथीभाइसँग, सामाजिक संजालको प्रयोगबाट समेत लागुऔषध दुर्व्यसनमा परी भन्दै यस्ता कुराहरुमा सचेत रहदै आफ्नो अध्ययनमा केन्द्रीत रहन विद्यार्थीहरुलाई आग्रह गरिन । कार्यक्रम आगामी पुस १७ गतेसम्म संचालन हुने र बेलहिया मावि सहित, भानु मावि, भैरहवा नमुना उच्च मावि, लिलाराम न्यौपाने मावि र महात्मा बुद्ध माविमा संचालन हुने नगरपालिकाका समाजिक विकास शाखा प्रमुख लक्ष्मण गिरीले जानकारी दिए ।

महिला बिकास शाखा प्रमुख कौसल्या चौधरीको संचालन, शिक्षा अधिकृत जानह्वी पाण्डेको स्वागतमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक सुमन गैरेले प्रशिक्षण दिएका थिए ।

सम्बन्धित शिर्षक :