पाल्पा । पाल्पामा एचआईभी संक्रमणको जोखिममा भएकाहरुका लागि लक्षित गरी प्रिएक्सपोजर फाइलायासिस (प्रेप) सेवा दिर्दै आइएको छ । एचआइभी संक्रमित भई नसकेका तर सम्भावित जोखिममा भएका व्यक्तिहरूलाई भविष्यमा एचआइभी संक्रमण हुनबाट बचाउन प्रेप उपचार विधि दिर्दै आइएको हो ।
। यहाँ नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको तानसेनस्थित क्लिनिकमार्फत् सेवा सञ्चालन भइरहेको छ । संघले यो सेवा सुरु गरेपछि ९ जनाले सेवा लिइरहेका छन् । दुई दर्जन बढी जोखिममा रहेका व्यक्तिहरूको पहिचानको काम भइरहेको छ । अहिले नेपालको सुनसरी र पाल्पाबाट मात्र प्रेप उपचार विधि सुरु भएको छ।
मध्य नेपालको नारायणगढदेखि पश्चिमका सबै क्षेत्र, छिमेकी मुलुक भारत उत्तर प्रदेश र विहारसम्मका सम्भावित जोखिममा रहेका व्यक्तिहरूलाई लक्षित गरेर संघले सरल प्रेप उपचार विधि सुरु गरेको हो । यो सेवा नयाँ भएकाले परिवार नियोजन संघ पाल्पाले जिल्लाका सरोकारवालाहरुमार्फत सचेतीकरण कार्यक्रम गर्दै आएको छ । उसले केही महिना अघिदेखि जिल्लाका विभिन्न व्यक्तिहरुसँग छलफल, अन्तक्र्रिया गर्दै सचेतीकरण गर्दै आएकोे हो । संघले अघिल्लो हप्ता दुई दिन जिल्लाका सरोकारवाला निकायहरुबिच सूचना सञ्चार तथा समन्वयका लागि सचेतीकरण कार्यक्रम गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले प्रेप बारे सबैलाई जानकारी गराई बाच्ने र बचाउने अभियानमा साथ दिन सबै सरोकारवाला निकायहरुलाई आग्रह गर्नुभयो । उहाँले चुनौतीपूर्ण रहेको एचआईभी संक्रमणको जोखिमलाई कम गर्न प्रेप विधिको सही उपयोग गर्न जोड दिनुभयो । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कमलराज तिमिल्सेनाले प्रेपका बारेमा जनचेतना फैलाउने काममा जिल्लाका पत्रकारहरुले आवश्यक सहयोग गर्ने बताउनुुभयो ।
महासघंका सचिव रामचन्द्र रायमाझीले प्रेप विधिले एचआईभी संक्रमणको जोखिम कम गर्नुको साथै संक्रमितहरुप्रति हुने लाञ्छना र विभेदको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले परिवार नियोजन संघले सञ्चालन गरेको अभियानलाई सबै पक्षले साथ दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पाल्पा अस्पतालका डा। अरुण शर्मा, युनाइटेड अस्पतालका निर्देशक डा। रचेल कारखले प्रेप एचआईभी संक्रमणको जोखिमलाई कम गर्न प्रभावकारी विधि भएकाले त्यसको सही उपयोग गर्न आग्रह गर्नुभयो ।
नेपाल सरकारले सन २०३० सम्म नेपालबाट एचआइभी सक्रमण तथा एड्स जस्ता रोगहरु उन्मुलन गर्ने लक्ष्य लिएको र सोहि लक्ष्य पुरा गर्न गराउन प्रेप उपचार विधी निकै प्रभावकारी देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताउनुभयो । कार्यक्रममा संघका शाखा प्रवन्धक सोवाकान्त न्यौपानेले प्रेप विधिका बारेमा सहजीकरण गर्नुभएको थियो ।
उहाँले एउटै घरपरिवारका श्रीमान र श्रीमति मध्ये एक जना एचआईभी संक्रमित भएको तर अर्को यौनसाथी संक्रमित नभई जोखिमको अवस्थामा रहेका व्यक्तिले प्रेप उपचार विधि शुरु गरेमा भविष्यमा संक्रमित हुनबाट बचाउने र सक्रमितसँग नियमित यौन क्रियाकलापमा सहभागी हुँदा समेत कुनै जोखिम नहुने बताउनुभयो ।
प्रवन्धक न्यौपानेले एक भन्दा बढी साथीसँग यौन सम्पर्क गर्ने व्यक्तिहरुको लागि आइआइभी सक्रमणबाट बचाउने प्रेप उपचार विधिको प्रचार–प्रसार बढेकोले सेवाग्राही बढ्दै गएको बताउनुभयो । यो प्रेप उपचार एआरटी सेवा लिईरहेका व्यक्तिहरुले भने प्रयोग गर्न नमिल्ने उहाँको भनाई छ ।
एआरटी औषधी सेवन गर्ने चरणामा नपुगेका यौन साथी, यौनिक अल्पसंख्यक महिला तथा पुरुष, यौनकर्मी महिला तथा पुरुष, सुईबाट लागु पदार्थ सेवनकर्ता तथा यौन रोगीहरुलाई एचआइभी संक्रमणबाट बचाउनको लागि यो विधि प्रभावकारी रहेको उहाँले बताउनुभयो । प्रवन्धक न्यौपानेले सरल प्रेप औषधी यौन सम्पर्क हुनु अगाडि २४ घण्टादेखि २ घण्टा समयसम्म २ वटा चक्की लिने र यौन सम्पर्क भएको २४ घण्टामा १ चक्की लिने र त्यसको २४ घण्टामा अर्को चक्की लिनुर्पे बताउनुभयो । नियमित यौन सम्पर्क गर्ने व्यक्तिले प्रत्येक २४ घण्टामा एक÷एक चक्की निरन्तर सेवन गर्नुपर्दछ ।
प्रेम उपचार सेवाबाट एचआइभी सक्रमितको संख्या शुन्यमा झार्ने लक्ष्यका साथ काम भएको संघका कोषाध्यक्ष माधव अर्यालले बताउनुभयो । उहाँले प्रेप सेवा प्राप्त गर्न आवश्यक पर्ने सम्पूर्ण चेकजाँच तथा औषधीहरु पूर्णरुपमा निशुल्क रहेको जाकारी गराउनुभयो । संघले प्रेप उपचारको लागि मेडिकल अधिकृत सहित १० जनाको जनशक्ति २४ सै घण्टा कार्यालयमा परिचालन गरेको छ भने बाहिरी क्षेत्रमा सेवाग्रहीको खोजी सम्पर्कको लागि केही स्वयमसेवकहरु परिचालन गरेको कोषाध्यक्ष अर्यालले बताउनुभयो ।
प्रेप उपचारको लागि वेभ साईट मेरो साथी डट कम वा क्युआर कोडबाट अनलाईन बुकिङ्को व्यवस्था समेत मिलाएको संघले जनाएको छ । प्रेप औषधी प्रयोगले प्राकृतिक रुपमा रहेको यौन शक्तिमा कुनै कमी नहुने तथा अन्य प्रकारको साईट इफेक्ट नगर्ने ग्यारेन्टी गरिएको छ । नेपाल सरकारले सन २०३० सम्म नेपालबाट एचआइभी सक्रमण तथा एड्स जस्ता रोगहरु उन्मुलन गर्ने लक्ष्य लिएको छ ।
सरकारको सोहि लक्ष्य पुरा गर्न गराउन प्रेप उपचार विधी निकै प्रभावकारी देखिएको छ ।
प्रतिकया दिनुहोस्