१० दिनपछि मन्त्रीहरुको कार्यविभाजन :स्वास्थ्य मन्त्रीमा खेम सारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा विना विभागीय मन्त्री बनेका ८ जना सांसदहरूले १० दिनपछि जिम्मेवारी पाउनुभएको छ । जन अनुसार स्वास्थ्य मन्त्रीमा नेकपा एमालेका तर्फबाट पाल्पाका खेम सारुलाई जिम्मेबारी दिएको हो।

मुख्यमन्त्रीसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले साउन ९ गते शपथ लिनुभएको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार नै कार्य विभाजनसँगै सरकारलाई पूर्णता दिन खोजेपनि काँग्रेसभित्रको आन्तरिक विवादले रोकिएको छ । कांग्रेसमा मन्त्री छान्ने विवाद साम्य नहुँदा सरकारमा जान खुट्टा उचालेका दुई साना दललाई पनि समस्या परेको छ ।

एमालेका मुख्यमन्त्री चेतनारायण आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसँग शुक्रबार बुटवलमा बसेर मन्त्रालयको जिम्मेवारी टुंगो लगाउनुभएको हो । सहमतिअनुसार कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा प्यूठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मी, उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा दाङका प्रचण्ड विक्रम न्यौपानेले जिम्मेवारी पाउनुभएका्े छ । कांग्रेसले एक मन्त्री पठाउन बाँकी छ।

एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा रूपन्देहीका भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा गुल्मीका दिनेश पन्थी, र ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रीमा दाङकी सीता शर्मा चौधरीले जिम्मेवारी पाएको मन्त्री भूमिश्वर ढकालले बताउनुभयो ।

१२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५, कांग्रेसले ५ र दुई साना दललाई मन्त्रालय बाँडफाँड गरिएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैंले राख्नुभएको छ । मुख्यमन्त्री आचार्यले यसअघि दिनेश पन्थीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिनुभएको थियो ।

साना दलमध्ये लोसपा र जसपा सरकारमा जाने निश्चित भएको छ तर मन्त्रालयको विषय अझै टुंगो लागेको छैन । लोसपा दलका नेता सन्तोष पाण्डेयले आफूहरु सरकारमा जाने विषय टुंगो लागेको तर कांग्रेसको मन्त्री टुंगो नलागेकाले रोकिएको बताउनुभयो ।

सम्बन्धित शिर्षक :