पाल्पामा धारिलो हतियारले हानेर युवतीको हत्या, घटनास्थलमा प्रहरी

स्वास्थ्यसमाचार/पाल्पामा एकजना युवतीको हत्या भएको छ। धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

कार्यालयका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले रिब्दीकोट गाउँपालिका– १ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको जानकारी दिएका हुन। घटना मंगलबार दिउँसो ४ बजे भएको हुन सक्ने अनुमान गरिएको छ।

उनले घटनाबारे बुधबार बिहानैदेखि स्थलगत अनुसन्धान भइरहेको जानकारी दिए। ‘हामी हिजो राती मात्र घटनास्थलमा आइपुगेका छौँ, घटनास्थलमा कुकुर परिचालन गरिएको छ’, उनले  भने।

साँझ घरनजिकैको पँधेरोमा नुहाउन गएकी पद्माको हत्या भएको अवस्थामा शव फेला परेको श्रेष्ठले जानकारी दिए। उनका अनुसार पद्याको शवमा धारिलो हतियारले काटेका घाउहरू देखिएका छन्।

डिएसपी श्रेष्ठले घटनाको प्रारम्भिक मुचुल्का तयार गरिसकेको र पीडित परिवारसँग छलफल भइरहेको घटनास्थलबाट जानकारी दिएका हुन। ‘बाँकी कुराहरू पोस्टमार्टमको रिपोर्टबाट पनि आउने छ’, उनले भने।

डिएसपी श्रेष्ठका अनुसार घटनास्थल पाल्पा सदरमुकाम तानसेनबाट गाडीमा डेढ घन्टाको दूरीमा पर्छ। घटनाको जानकारी मंगलबार ५ बजे जिल्ला प्रहरी कार्यालयमा आएको र प्रहरी टोली त्यहाँ पुग्दा अँध्यारो भइसकेकाले बुधबार बिहानैदेखि अनुसन्धान भइरहेको छ।

 

सम्बन्धित शिर्षक :