लुम्बिनी प्रादेशिक अस्पताल हाटबजार जस्तो भयो :- मुख्यमन्त्री पोखरेल

स्वास्थ्यसमाचार/ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि सटरहरु भत्काउने काममा भएको अवरोधप्रति असन्तुष्टि व्यक्त गरे ।

प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाको रुपमा लिएको अस्पतालको विकासको काममा व्यवसायीक संघसंस्थाहरुले समेत असहयोग गरेको गुनासो व्यक्त गरे ।गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा सञ्चालनमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको वार्षिकउत्सव तथा सातौं स्थापना दिवसका अवसरमा बोल्दै उनले यस्तो बताए।

लुम्बिनी प्रादेशिक अस्पतालको संरचनागत प्रबन्ध र व्यस्थापकीय कमजोरीका कारण अस्पताल अव्यवस्थीत हाटबजार जस्तो भएको बताए ।
अस्पताल सुधार र विस्तारका लागि प्रदेश सरकारले योजना ल्याउंदा संघसंस्थाहरुले व्यवसायीलाई बोकेर जिल्ला अदालत जाने तर सार्वजनिक समारोहमा ठूला ठूला भाषण गर्ने भन्दै आलोचना गरे ।

मुख्यमन्त्री पोखरेलले अस्पतालभित्रको स्वास्थ्य सेवा कसरी चलेको छ भन्ने सबैले देख्न र जान्न पाउनुपर्ने भन्दै त्यसो हुन सकेमात्र अस्पतालभित्र बसेर निजी अस्पतालमा सुटुक्क विरामी पठाउने काम बन्द हुने बताए । उनले कतिपय निजी अस्पतालहरुले एम्बुलेन्स चालकलाई कमिसन दिएर विरामी किन्ने गरेको बताउंदै यस्तै गतिविधीका कारण बुटवल बदनाम हुंदै गएको बताए ।

मुख्यमन्त्री पोखरेलले विद्यार्थी पढाएर अस्पताल चलाउने नभई अस्पताल चलाएर विद्यार्थी पढाउनेतर्फ केन्द्रित हुन मेडिकल कलेजहरुलाई आग्रह गरे । मुख्यमन्त्री पोखरेलले प्रदेश ५ मा तिनवटा मेडिकल कलेज रहेरपनि स्वास्थ्यको हिसाबले पछाडी रहनु दुखद भएको बताए । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको स्तरउन्नतिका लागि प्रदेश सरकारले सहकार्य गर्ने उनले बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरु भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, अस्पतालका निर्देशक डा. समिर गौतम, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्की लगायतले विरामीहरुको चापको आधारमा अस्पताल सांघुरो भएकोले छिटो भन्दा छिटो अन्यत्र विस्तार गर्नुपर्नेमा जोड दिए।

संस्थाका अध्यक्ष एजाज आलमको अध्यक्षता उपाध्यक्ष रामप्रसाद बस्यालको स्वागत तथा सचिव दिनेशराज रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित शिर्षक :