स्वास्थ्य तथा जनसंख्या विभाग एमालेद्धारा शुद्धोधनमा स्वास्थ्य शिविर

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शुक्रबार जिल्लाको शुद्धोधनमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

आधारभूत स्वास्थ्यको पहुँचमा नरहेका जनतालाई लक्षित गरी शुद्धोधन गाउँपालिका–५ मानपकडीमा ‘हेल्थ क्याम्प’ गरिएको हो । देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्यूट, भलूहीको प्राविधिक सहयोगमा गरिएको शिविरको नेकपा एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलसी चौधरीले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै सचेतक चौधरीले स्वास्थ्य विभागले उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे । चौधरीले शिविरबाट वास्तविक नागरिकले फाइदा लिनुपर्नेमा जोड दिए । ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य शिविर गरेर सेवा दिएकोमा चौधरीले खुसी व्यक्त गरे । विभागलाई प्रदेश सरकारबाट आवश्यक सहयोगलाई लागि आफूले सक्दो सहयोग गर्ने चौधरीले बताए ।

कार्यक्रममा एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले राज्यले गर्नुपर्ने काम स्वास्थ्य तथा जनसंख्या विभागले गरेकोमा धन्यवाद दिए । शिविरमा फिजिसियन, हाडजोर्नी, महिला रोगको जाँच गरी औषधि पनि वितरण गरिएको थियो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य तथा विभाग प्रमुख सुनील श्रेष्ठले वार्षिक कार्ययोजना अनुसार शिविर गरिएको बताए ।

अध्यक्ष श्रेष्ठले रुपन्देहीको पाँच वटै निर्वाचन क्षेत्रसँग समन्वय गरी पालिकाहरुमा शिविर गरिएको जानकारी गराउदै आम नागरिकलाई सहज हुने गरी आउने दिनमा घुम्ती स्वास्थ्य शिविर गर्ने गाडीको व्यवस्थापनको निम्ती सरकारसँग पहल गरिने बताए । आगामी दिनहरुमा पनि आवश्यकता अनुसार निरन्तर शिविरहरु गर्दै जाने र वर्तमान स्थतिमिा सुगर र मृगौला रोग सम्बन्धी रोगको विषयमा सचेतनामूलक कार्यक्रमहरु गर्दै अगाडि बढने बताए । जनतासँग चिकित्सक अन्तरक्रिया कार्यक्रम पनि गर्दै जाने योजना रहेको श्रेष्ठको भनाइ छ ।

शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्ता ज्ञवाली, वडा अध्यक्ष चन्द्रभान चौधरी, पार्टी गाउँ कमिटी अध्यक्ष विष्णु गौतम, प्रदेश कमिटी सदस्य किरण नेपाल, पूर्व गाउँपालिका अध्यक्ष किशुनचन्द्र चौधरी, विभागका सदस्य कूलप्रसाद बस्याल, विष्णु ढकाल लगायतले बोलेका थिए । कार्यक्रममा सहभागीले विशेषज्ञ सेवाको पहुँच नपुगेका हाम्रो क्षेत्रका नागरिकलाई सेवा दिएकोमा आभार व्यक्त गरे ।

आगामी दिनमा दन्त र आँखा शिविर पनि सञ्चालन गर्न आवश्यक रहेको जनताबाट आग्रह भएको थियो । अहिलेसम्म १० लाख रुपैयाँ भन्दा बढी को औषधि वितरण गरिएको छ । मेडिकल कलेजबाट निःशुल्क ओपिडी सेवा, यातायात सेवा र अन्य सेवा सुविधा दिने कलेज जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक :