तिलोत्तमा समायोजन मिलान भएका १३ स्वास्थ्यकर्मीले पाएनन तलव

४५को दरबन्दी हो बढीलाई तलव खुवाउन सक्ने कुरा भएन :प्रमुख प्रशासकीय अधिकृत अर्याल

स्वास्थ्यसमाचार/समायोजन मिलान भई तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यका १३ कर्मचारीहरुले गत १ साउन देखिएको तलव भत्ता पाउन सकेका छैनन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र अनुसार नगरपालिकाले उनीहरुलाई हाजिरी गराए पनि तलव खुवाउन भने आलटाल गरिरहेको छ । दशैंको मुखमा साउन देखिकै तलव रोकिदा उनीहरु भने विचल्लीमा परेका छन् ।

एक जना कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतले नियतबस नै आफूहरुलाई दुख दिन खोजेको आरोप लगाए । ‘हामी सरकारकै कर्मचारी हौँ । समायोजन मिलान भई यहाँ आएका हौँ । काम काज पनि गर्दै आएका थियौँ ।

१ साउन देखि दबरन्दी भन्दा बढीलाई तलव खुवाउन नसकिने भन्दै सरकारले काज फिर्ता गर्ने अभियान त चलायो तर ३० साउनमा पुन समायोजन मिलान भएका कर्मचारीहरुलाई यथास्थितिमा राख्दै तलव खुवाउन स्थानीय पालिकाहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले नपुग भएका ठाउँमा कति नपुग भएको हो सो जानकारी गराउन समेत भनेको छ । तर हाम्रो नगरपालिकाले त्यो गरेकै छैन । मन्त्रालयबाट पठायो भने तलव दिईन्छ होइन भने दिईदैन भन्ने गरेका छन् प्रशासकीय अधिकृत,’ एक कर्मचारीले भने ।

हाजिरी गराएका कर्मचारीहरुलाई काममा लगाउने र तलव खुवाउने दायित्व पनि प्रमुख प्रशासकीय अधिकृतको हो भन्दै १३ जना कर्मचारीप्रति उनको व्यवहार पक्षपातपूर्ण रहेको ती कर्मचारीले बताए ।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले भने सरकारले दरबन्दी भन्दा बढी कर्मचारी नराख्न निर्देशन दिएको र अहिलेका १३ जना समायोजन मिलानका कर्मचारी भएपनि दरबन्दी भन्दा बढी रहेको बताए । उनले मन्त्रालयबाट तलव आएमा खुवाउन सक्ने अन्यथा नसक्ने कुरा कर्मचारीलाई स्पष्ट पारेको समेत बताए ।

‘हामीकहाँ ४५ जना स्वास्थ्यको दरबन्दी हो । उहाँहरु १३ जना दरबन्दी भन्दा बढिमा पर्नु हुन्छ । यसमा हामीले खुवाउन सक्ने कुरा भएन । मेयर उपमेयर सहित बसेको बैठकले गरेको निर्णय हो यो,’ उनले भने ।

दशैंको बेलामा तलव नपाउँदा कर्मचारीहरुलाई अफ्टेरो लाग्नु स्वभाविक भए पनि आफू नियम विपरित काम गर्न नसक्ने अर्यालले बताए  तिलोत्तमाकै एक कर्मचारीले भने समायोजन मिलान भई काम गरेका छिमेकी पालिकाहरुमा दनादन तलव पाइरहेको बताए । ‘हाम्रोमा विशेषगरी प्रमुख प्रशासकीय अधिकृतले ईगो साँधेर यो काम गर्नु भएको हो ।

यति बढी कर्मचारी छन् तलव नपुग भयो भनेर मन्त्रालयलाई जानकारी पनि नगराउने, दिएमा मात्रै खुवाउँछु भन्ने यो गैर जिम्मेवारी कुरा भयो,’ ती कर्मचारीले भने ।

सम्बन्धित शिर्षक :