प्रदेश ५ मा डेंगु महामारीको रुपमा नफैलिएको सरकारी पक्षले दावी

स्वास्थ्य समाचार/रुपन्देहीमा डेंगु संक्रमितको संख्या बढ्दो क्रममा रहेपनि डेंगु नियन्त्रमा रहेको स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुले बताएका छन् ।

डेंगु सामान्य खालको भाईरल भएको र महामारीको रुपमा फैलिएको भन्न नमिल्ने उनीहरुले बताए । रिपोर्टर्स क्लवले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्ने सरकारी र नीजि क्षेत्रका अगुवाहरुले डेंगु नियन्त्रणका लागि सबैमा सचेतना जगाउनु पर्नेमा जोड दिए ।

साउनको दोस्रो सातादेखि देखा परेको डेंगु रुपन्देहीसहित तराईका जिल्लामा बढी देखिएको बताए । सोही कार्यक्रममा बोल्दै प्रदेश नम्बर पांच सामाजिक विकास मन्त्रालयका निमित्त सचिव थानेश्वर ज्ञवालीले डेंगुबाट मानिसहरु संक्रमित भएपनि महामारी भन्न नमिल्ने बताए । खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाएर मानिसमा जनचेतना जगाउन सकिए डेंगु सबैका लागि सामान्य हुने बताए ।

प्रदेश नम्बर पांचका स्वास्थ्य निर्देशक डाक्टर विनोदकुमार गिरीले तराईका सबै जिल्लामा डेंडु देखिएको बताए । उनले रुपन्देहीसहित प्रदेश नम्बर पांचको विभिन्न जिल्लामा १ सय ४९जनामा डेंगु भेटिएको र ८७ जना उपचारपछि घर फर्किएको जानकारी गराए । डेंगु संक्रमित विरामीहरुको उपचारका लागि किट प्रभावकारी नहुने भएकाले किटको आवश्यक नपर्ने बताए । सरकारले स्वास्थ्यमा लगानी गर्न नसकेको उल्लेख गर्दै प्रदेश सरकारले कुल वजेटको १० प्रतिशत वजेट स्वास्थ्य क्षेत्रलाई छुट्टाउन सकेमात्र स्वास्थ्य क्षेत्रको सुधार गर्न सकिने बताए ।

लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिडेण्डन डाक्टर कृष्ण खनालले प्रादेशीक अस्पतालमा ६९ जना डेंगु संक्रमितका विरामीहरु भेटिएको जानकारी गराए । बुटवलका २३ जना मानिसमा डेंगु भेटिएकोसमेत जानकारी गराए । उनले डेंगुको उपचारमा किटको भरपर्न नहुने बताउंदै किटले डेंगु नलागकोलाई लागेको र लागेकोलाई नलागेको देखाएकाले भरपर्न नहुने दावी गरे ।उनले डेंगु सामान्य भाइरल जस्तै भैसकेको जानकारी गराउंदै ९० प्रतिशत डेंगु आफै निको हुने र १० प्रतिशतको लागि विशेष उपचार गर्नुपर्ने बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख खोज र नष्ट गर कार्यक्रमलाई अभियानलाई निरन्तरता दिनुपर्ने बताए । बुटवल उपमहानगरपालिकाका शिक्षा तथा स्वास्थ्य महाशाखाका प्रमुख मित्रलाल खनालले डेंगु नियन्त्रण भएपनि मिडियाले गलत भ्रम फैलाएको आरोप लगाए । उनले मिडियाले गलत तथ्याकं दिएकाले सर्वसाधारण त्रसित बनेको बताउंदै बुटवल उपमहानगरपालिकाले प्रभावकारी रुपमा डेंगु नष्टको कार्यक्रम गरेको दावी गरे ।

बुटवल अस्पताल प्रालिका डाइरेक्टर मुक्तिराज पौडेल र मर्शिी सिटी अस्पतालका अध्यक्ष जनक कोइरालाले डेंगु नियन्त्रणका लागि सरकारको मात्र मुख ताक्न नहुने र सबैको सहयोग र प्रतिवद्वता चाहिने बताए । रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

सम्बन्धित शिर्षक :