लुम्बिनी प्रदेशले तीन रोगको उपचारमा दुई लाख सहुलियत दिने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आफ्ना प्रदेशका नगरिकलाई तीन प्रकारका रोगको उपचारमा दुई लाख सहुलियत प्रदान गर्ने भएको छ।लम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकास देवकोटाले लुम्बिनी प्रदेशका नागरिकलाई अब तीन प्रकारका रोगको उपचारमा थप दुई लाख सहुलियत प्रदान गर्न लागिएको वताउनु भयो।

सचिव डा देवकोटाका अनुसार क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने अवस्थामा रहेका बिरामीलाई दुई लाख सहुलियत दिन लागेको हो।यी रोगको उपचारमा संघीय सरकारले दिएको सुविधासँगै प्रदेशले थप २ लाख उपचार रकम सहयोग गर्न लागेको हो।

‘लुम्बिनी प्रदेशले यहाँका नागरिकलाई तीनवटा रोगको उपचारमा दुई लाखसम्म सहुलियत दिन लागेको हो, यो रकम केन्द्र सरकारले दिने ८ रोगको सहुलियत खर्च भन्दा छुट्टै हो,’ डा देवकोटाले भने, ‘प्रदेश सरकारबाट दुई लाख सहुलियत पाउनेहरुले केन्द्र सरकारको अर्को सहुलियत पनि पाउँछन्।’यसका लागि प्रदेशले आफ्ना नागरिकलाई उपचारमा सहुलियत प्रदान गर्न प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका–२०७८ समेत बनाइसकेको छ।

उक्त निर्देशिकामा उल्लेख भएअनुसार आर्थिक सुविधा प्राप्त गर्न बिरामीले निज लुम्बिनी प्रदेशको वासिन्दा नागरिक भएको पहिचान खुल्ने सिफारिस पत्र पेश गर्नुपर्नेछ। सिफारिस पत्रका लागि बिरामी वा बिरामीको नजिकको हकवाला वा संरक्षकले सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा निवेदन दिनुपर्नेछ।

निवेदन दिने बिरामी सो वडाको वासिन्दा नागरिक हो भन्ने यकिन गरी वडा कार्यालयले उक्त निवेदन स्थानीय सिफारिस समितिमा पठाउनुपर्ने भनिएको छ  सिफारिस समितिमा स्थानीय तहको उपप्रमुख वा उपाध्यक्ष संयोजक, प्रमुख प्रशासकीय अधिकृत सदस्य र स्वास्थ्य सेवा महाशाखा वा शाखा प्रमुख सदस्य सचिव हुने भनिएको छ।

सो समितिले निवेदन साथ प्राप्त भएका कागजात, प्रदेश सरकारले बनाएको निर्देनिका अनुसार रोग पहिचान भएको चिकित्सकको प्रेस्क्रिप्सन, उपचाररत बिरामी भए उपचार गरिरहेको अस्पताल वा स्वास्थ्य संस्थाको नाम, नागरिकताको प्रमाण पत्र, सूचीकृत अस्पतालको विवरण, सोही स्थानीय तहको नागरिक भए नभएको विवरण वा नाबालकको हकमा जन्मदर्ता प्रमाण पत्र समेतका आधारमा विशेष आर्थिक सुविधा उपलब्ध गराउन स्वास्थ्य निर्देशनालयलाई सिफारिस गर्ने सिफारिस पत्र दिनुपर्ने छ।

विशेष आर्थिक सुविधाको मापदण्ड के?

सो निर्देशिकाका अनुसार क्यान्सर रोगको उपचारमा विभिन्न प्रकारका क्यान्सर रोग, ती सम्बन्धी शल्यक्रिया, थप निदानात्मक सेवा, केमोथेरापी, रेडियोथेरापी, औषधि, औषधिजन्य सामाग्री, शय्या तथा सेवा शुल्क र बिरामीको हेरचार समेतका लागि प्रति बिरामी दुई लाखसम्म पाउने छन्।

यस्तै मिर्गौलाको प्रत्यारोपण गरेका वा गर्नको लागि प्रति बिरामी दुई लाख सम्म र मुटुको भल्भ फेरेका वा फेर्नका लागि प्रति बिरामी दुई लाखसम्म पाउनेछन्। सो सरका एक रोगका लागि दुई किस्तामा प्रदान गरिने जनाइएको छ।

lumbini upachar subidha

सम्बन्धित शिर्षक :