पाल्पाको बगनासकाली ७ खानिगाउँमा बर्थिङ सेन्टर सुरु

स्वास्थ्यसमाचार/पाल्पाको बगनासकाली ७ खानिगाउँमा बर्थिङ सेन्टर सुरु भएको छ । बगनासकाली गाउँपालिकाले स्थानीय नागरिकहरुलाई प्रसुती सेवा दिने उदेश्यले खानिगाउँमा बर्थिङ सेन्टर सुरु भएको हो ।

बर्थिङ सेन्टरको उद्घाटन गर्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले गाउँपालिकाका ४ वटा वडाहरुमा बर्थिङ सेन्टर संचालन भएको बताउनुभयो । अध्यक्ष बस्यालले गाउँपालिकाको दर्लम र यम्घामा पनि बर्थिङ सेन्टर सुरु गर्न लागिएको बताउदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन गाउँपालिकाले कुनै कसुर वाँकी नराखेको उल्लेख गर्नुभयो ।

यस अघि गाउँपालिकाका वडा नं ९ चापपानी, वडा नं ४ खानिछाँप र वडा नं ३ नायरनमतलेसमा बर्थिङ सेन्टर संचालन हुँदै आएका छन् । गाउँपालिका अध्यक्ष बस्यालले ५ वर्षको कार्यकाल सकिन लागेको स्मरण गर्दै आफ्नो नेतृत्वले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो ।

एक वर्ष अगाडी नै संचालनमा आएको खानिगाउँ स्वास्थ्य चौकीमा तालिम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्थापन भएपछी बर्थिङ सेन्टर सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार बर्थिङ सेन्टरमा तालिम प्राप्त स्वास्थ्यकर्मीको २४ घण्टे सेवाको साथै गुणस्तरीय प्रविधि प्रयोग गरिएको छ ।

खानिगाउँमा आयोजित बर्थिङ सेन्टरको शुभारम्भ कार्यक्रममा वोल्दै नेकपा एमाले बगनासकालीका अध्यक्ष हरि प्रसाद पाठकले स्वास्थ्यकर्मीहरुले जनताको मन जित्नुपर्ने बताउनुभयो । बगनासकाली गाउँपालिकाले संचालनमा ल्याएको बर्थिङ सेन्टरले जनतालाई फाइदा पु¥याउने उल्लेख गर्दै पाठकले स्वास्थ्यकर्मीले मन जिते मात्रै बर्थिङ सेन्टरको औचित्य पुरा हुने बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले घरछेउको प्रसुती केन्द्र छाडेर सदरमुकाम जान नपर्ने भन्दै, दक्ष स्वास्थ्यकर्मी र प्रविधिको प्रयोग गर्न आग्रह गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत विष्णु बहादुर घर्तीले गाउँपालिकाका नागरिकलाई पायक पर्ने स्थानमा सेवा दिन आफुहरु खटिएको उल्लेख गर्नुभयो ।

कुमारी बुढाथोकी लगायतले प्रसुती कार्यमा स्वास्थ्य स्वंय सेविकाहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । जिल्ला सदरमुकाम तानसेनबाट ९ किलोमिटर उत्तरमा रहेको खानिगाउँमा वार्षिक ५० वढी गर्भवतीहरु तानसेन तथा अन्य स्थानहरुमा गई सुत्केरी हुने गरेको स्वास्थ्य चौकीको तथ्याङकमा रहेको छ ।

सम्बन्धित शिर्षक :