गौतमबुद्ध मुटु अस्पतालमा पदस्थापन :स्वास्थ्य क्षेत्रमा गरेका योगदानको प्रशंसा

स्वास्थ्यसमाचार/  गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको विहिबार पदस्थापन भएको छ । आगामी कार्याकालका लागि एजाज आलमको अध्यक्षतामा चयन भएको कार्यसमितिलाई एक कार्यक्रमका बीच पदस्थापन गरिएको हो ।

गएको पुष १० गते सम्पन्न अधिवेशनले आलमको नेतृत्वमा समिति चयन गरेको थियो । अस्पतालका सहयोगी संस्था रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ बुटवल डाउन टाउन र रोटरी क्लब अफ बुटवल साउथबाट एकएक जना र अध्यक्ष आफैले मनोनित गर्नुभएका दुईजना सदस्यलाई समेत पदस्थापन गराइएको छ ।

निर्वाचन समितिका निर्वाचन आयुक्त दिनेश पाण्डेको संचालनमा भएको पदस्थापन कार्यक्रममा निर्वाचित अध्यक्ष आलमलाई निर्वाचन समितीका प्रमुख आयुक्त यमलाल खनालले र सदस्यहरुलाई अध्यक्ष आलमले सपथग्रहण गराएका थिए । शुभकामना मन्तव्य व्यक्तगर्दै लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा संचारमन्त्री तिलकराम शर्माले राज्यले गर्न नसकेको अवस्थामा सामुदायिक क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे ।

उनले अस्पतालको जग्गा प्राप्तिको लागि प्रदेश सरकार र आफ्नो तर्फबाट गर्नुपर्ने काममा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । लुम्विनी प्रदेशसभा सदस्य बिष्णु पन्थीले समाजिक उदेश्य र सेवा भावना बोकेका संस्थाहरुमा राज्य सहयोगी बन्नु पर्नेमा सरकारी नीति नियमका कारण अवरोध हुने गरेको बताए।

अस्पतालका अध्यक्ष आलमले राज्यले गर्नुपर्ने काम सामुदायिक संस्थाले गर्दै आएपजि सरकारले सहयोग नगर्दा दुःख लाग्ने बताए । लामो समयदेखि तिलोत्तमा ४ मा अस्पतालको लागि जग्गा प्रस्ताव गरिएपनि सरकारी बेवास्ताले ढिलाइ भएको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री शर्मालाई जग्गा प्राप्तिमा सहयोग गर्न आग्रह गरे ।

संस्थाका निवर्तमान सहसचिव बाबुराम बोहोराको संचालन तथा अस्पतालका निर्देशक डाक्टर समीर गौतमको स्वागतमा भएको कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त यमलाल खनाल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष ध्रुव धितालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा अस्पतालका सन्चालक समिती सदस्य तिल प्रसाद भट्टराईले अस्पतालमा मृगौलाको डायलाईसिस गराई रहेका ५ जना बिरामीहरुलाई १ वर्षसम्म आवश्यक पर्ने औषधी सहयोग गरेका थिए ।

 

सम्बन्धित शिर्षक :