स्वास्थ्यमा सबैको काज फिर्ता हुने, रिक्त दरबन्दी र करारको खोजी सुरु

काठमान्डौ /स्वास्थ्य मन्त्रालयमा पहुँचका भरमा सुगम तथा अनकूलका ठाउँमा राखिएका काज फिर्ता गरिने भएको छ।प्रदेश र स्थानीय तहमा समायोजन भइसकेका चिकित्सक एवं स्वास्थ्यकर्मी पहुँचका भरमा मन्त्रालय, विभागमा थुप्रिने प्रवृति बढेपछि मन्त्रालयले दरबन्दी र जनशक्ति व्यवस्थापन गर्न लागेको हो ।

विशेषगरी ओली सरकारका समयमा राजनीतिक पहुँचका आधार ठूलो संख्यामा कर्मचारी मन्त्रालय, विभाग र प्रदेशका संरचनामा काज राखिएका छन् ।मन्त्रालय एवं तिनै तहका सरकार अन्तर्गत कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी नर्स एवं अन्य कर्मचारीको दरवन्दी विवरण, रिक्त दरवन्दी अवस्था, काज गएको स्थान र औचित्यसहित करारको समेत विवरण यकीन गरी विवरण बुझाउन स्वास्थ्य राज्यमन्त्रीस्तरीय निर्णयबाट समिति गठन भएको हो ।

हालै मात्र सरुवा भएर स्वास्थ्यमा आएका सह–सचिव इन्द्रमणि पोखरेलले यसको नेतृत्व पाएका छन् । पोखरेल समितिमा उपसचिव भानुभक्त न्यौपाने र अधिकृत दिपक रिजाल सदस्य छन् ।एक महिनाको कार्यअवधि पाएको समितिले फिर्ता गर्नुपर्ने काज, पुर्ति गर्नुपर्ने दरबन्दी र अस्थायी करार, ज्यालादारीको समेत विवरणसहित सुधारका लागि ठोस सुझाब दिनेछ।

ठूलो संगठन संरचना, ५६ वटा उपसमूह एवं विभिन्न समूह रहेको स्वास्थ्यमा कर्मचारी विवरण चुस्त नहुँदा कतिपयको समायोजन समेत सकिएको छैन्।यो विकृति अन्त्यगरी कर्मचारी प्रशासन चुस्त पार्न र थप जनशक्तिको अवश्यकता बोधगरी नयाँ ओएनएममा जान पनि यो अध्यायन फलदायी हुने मन्त्रालयको विश्वास छ।

मन्त्रालय स्रोतका अनुसार मन्त्रालय र विभाग अन्तर्गत यसरी काजमा राखिाएका कर्मचारीका विवरण संकलन भइसकेको छ। तर, विभाग र मन्त्रालयको मात्रै काज फिर्ता गर्दा विवाद आउँन सक्ने भन्दै देशभरको तथ्यांक लिएर एकैपटक निर्णय गर्न खोजिएको हो।हेल्थपोष्ठवाट

 

सम्बन्धित शिर्षक :