स्वास्थ्यसमाचार/ चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएस तहको एकीकृत प्रवेश परीक्षा (MECEE-BL 2027) मा बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका १८ जना विद्यार्थी सफल भएका छन् ।
प्रवेश परीक्षाको सार्वजनिक नतिजाअनुसार विद्यालयका शिशिर मल्लले देशभरबाट १०औँ स्थान हासिल गर्नुभएको छ । त्यसैगरी निश्चल जीसीले ३५औँ र आयुष पाण्डेले ३९औँ स्थान प्राप्त गर्नुभएको छ ।
विद्यालयका अनुसार सम्राट मरासिनीले ६९औँ, अजयकुमार चौधरीले ९१औँ, आकाश मिश्रले १५६औँ, आदित्य भण्डारीले १६१औँ, ईशान ज्ञवालीले १८६औँ र गणेश पन्थीले २०८औँ स्थान हासिल गर्नुभएको छ ।
त्यस्तै बिपिशा अर्यालले २२५औँ, शिवनाथ यादवले २७८औँ, दीपक केसीले ३०९औँ, सम्पदा गौतमले ३३८औँ, बालकृष्ण कोहारले ३५४औँ, अर्जुन रिजालले ३५६औँ, राजीव अग्रहरीले ३७०औँ, इन्द्रबहादुर भुजेल मगरले ३८१औँ र अंकित तिवारीले ३९२औँ स्थान प्राप्त गर्नुभएको विद्यालयले जनाएको छ ।
विज्ञान विभाग प्रमुख कृष्ण अधिकारीले योजनाबद्ध पठनपाठन, नियमित मूल्याङ्कन र अतिरिक्त तयारी कक्षाले विद्यार्थीको सफलतामा सहयोग पुगेको बताउनुभयो ।
कक्षा ११ र १२ देखि नै विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ प्रवेश परीक्षाका लागि आवश्यक आधार तयार गराउने गरिएको उहाँले जानकारी दिनुभयो ।
एकैपटक १८ जना विद्यार्थीले देशभरको प्रतिस्पर्धामा ४०० भित्र स्थान हासिल गर्नु विज्ञान सङ्काय र विद्यालयका लागि महत्त्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो ।उहाले अरु कलस्टरका जोडदा ३५ भन्दा बढी हुने बताउनु भयो ।
विद्यालयका प्राचार्य विष्णुहरि ज्ञवालीले यस नतिजाले सामुदायिक विद्यालयले पनि गुणस्तरीय र प्रतिस्पर्धी शिक्षा प्रदान गर्न सक्छन् भन्ने प्रमाणित गरेको बताउनुभयो ।
विद्यार्थीको निरन्तर मेहनत, अभिभावकको विश्वास र शिक्षकको समर्पणका कारण विद्यालयले गौरवपूर्ण सफलता हासिल गरेको उहाँले उल्लेख गर्नुभयो ।
सामुदायिक विद्यालयतर्फ नमुना कालिका मानवज्ञान माध्यमिक विद्यालयले चिकित्सा शिक्षा प्रवेश परीक्षामा प्राप्त गरेको यस सफलताले विद्यालयको शैक्षिक पहिचानलाई थप बलियो बनाएको छ ।



प्रतिकया दिनुहोस्