मनोचिकित्सक संघको १२औँ राष्ट्रिय सम्मेलन रुपन्देहीमा सुरु

निदानको घेराभन्दा बाहिरबाट मानसिक स्वास्थ्य बुझ्नुपर्नेमा मनोचिकित्सकहरूको जोड

स्वास्थ्यसमाचार/मानसिक स्वास्थ्यलाई रोगको पहिचान, वर्गीकरण र चिकित्सकीय निदानमा मात्र सीमित नगरी व्यक्तिको जीवनभोगाइ, सामाजिक परिवेश, संस्कृति, भावना र मानवीय संवेदनाका आधारमा बुझ्नुपर्नेमा मनोचिकित्सकहरूले जोड दिएका छन्।

मनोचिकित्सक संघ नेपालको १२औँ राष्ट्रिय सम्मेलन ‘PANCON लुम्बिनी–२०२६’ मा सहभागी विज्ञहरूले मानसिक स्वास्थ्य उपचारमा व्यक्तिलाई रोगको नाम वा चिकित्सकीय पहिचानबाट मात्र नहेरी उसको समग्र जीवन र अनुभवलाई बुझ्नुपर्ने बताएका हुन्।

‘विविध मन, विविध अभिव्यक्ति : दृष्टिकोणको विविधता र स्थापित सीमाभन्दा पर मानसिक स्वास्थ्यको बुझाइ’ मूल नारासहित नोभेम्बर १८ देखि २० सम्म भैरहवामा आयोजना गरिएको सम्मेलनमा मानसिक स्वास्थ्यको मानवीय पक्ष, वैज्ञानिक अनुसन्धान, उपचारका नवीन पद्धति र सेवाको पहुँच विस्तारबारे छलफल भइरहेको छ।

मनोचिकित्सक संघ नेपालका अध्यक्ष प्रा. डा. सन्दीप सुवेदीले मानसिकस्वास्थ्यकर्मी को जिम्मेवारी रोग पहिचान गर्ने र औषधि उपचार गर्नेमा मात्र सीमित नरहेको बताए।

व्यक्तिको कुरा सुन्ने, उसका अनुभव र पहिचानको सम्मान गर्ने, सबल पक्ष पहिचान गर्ने तथा पीडालाई संवेदनशीलताका साथ सम्बोधन गर्नु पनि उपचारको महत्त्वपूर्ण पक्ष भएको उनको भनाइ छ।

‘निदान भन्दा पर व्यक्तिलाई देख्न, लक्षणभन्दा पर उसको जीवनकथा बुझ्न र चिकित्सकीय लेबलभन्दा पर रहेको मानवतालाई आत्मसात् गर्नुपर्छ,’ उनले भनेका छन्।

उनका अनुसार प्रत्येक व्यक्तिको सोच्ने, महसुस गर्ने, अनुभव गर्ने र आफ्ना भावना अभिव्यक्त गर्ने तरिका फरक हुन्छ। जैविक अवस्था, परिवार, समाज, संस्कृति, सम्बन्ध र जीवनका परिस्थितिले मानसिक स्वास्थ्यमा प्रभाव पार्ने भएकाले एउटै चिकित्सकीय मापदण्डबाट सबै व्यक्तिको अनुभवलाई पूर्ण रूपमा बुझ्न नसकिने उनले बताए।

नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी चुनौती बढ्दै गएको उल्लेख गर्दै उनले आत्म हत्या, लागूपदार्थ तथा मादक पदार्थको दुरुपयोग, बेरोजगारी, वैदेशिक रोजगारी, सामाजिक असमानता, मनोसामाजिक तनाव र प्राकृतिक विपद्का असरलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।

प्राथमिक स्वास्थ्य सेवाको तहदेखि नै मानसिक स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति को विकास, सर्वसुलभ उपचार र समुदायमा आधारित सेवाको सुदृढीकरण आवश्यक रहेको  औँल्याए।

मानसिक रोगप्रतिको सामाजिक कलंक र विभेद अन्त्य गर्दै प्रभावित व्यक्तिको अधिकार र सम्मान संरक्षण गर्नुपर्ने उनको जोड छ।

संघकी महासचिव डा. रचना शर्मा बस्नेतले सम्मेलनलाई चिकित्सकहरूको वार्षिक जमघटमा मात्र सीमित नराखी अनुभव आदानप्रदान, आत्मसमीक्षा र व्यावसायिक सम्बन्ध सुदृढ गर्ने साझा मञ्चका रूपमा व्याख्या गरेकी छन्।

उनका अनुसार चिकित्सकीय निदानले रोगको अवस्था पहिचान गर्न सहयोग गरे पनि त्यसले व्यक्तिको सम्पूर्ण जीवनकथा, संस्कृति, संघर्ष र पुनःस्थापित हुने क्षमतालाई समेट्न सक्दैन।

त्यसैले मानसिक स्वास्थ्यकर्मीले बिरामीका वास्तविक अनुभव र व्यक्तिगत आवश्यकतालाई सुन्ने तथा बुझ्ने अभ्यासलाई प्राथमिकता दिनुपर्छ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्मेलन आयोजना हुनु अर्थपूर्ण रहेको उल्लेख गर्दै उनले यो भूमिले शान्ति, आत्मचिन्तन र करुणाको सन्देश दिने बताएकी छन्।

दैनिक व्यावसायिक व्यस्तताबाट केही समय अलग भएर आफ्ना अभ्यासमाथि पुनर्विचार गर्ने र सहकर्मीसँग अनुभव साट्ने अवसरका रूपमा सम्मेलनलाई उपयोग गर्न उनले सहभागीलाई आग्रह गरेकी छन्।

सम्मेलन आयोजक समितिकी अध्यक्ष डा. मौशमी थापाले मानसिक स्वास्थ्य उपचारमा चिकित्सकीय दक्षतासँगै व्यक्तिको सामाजिक, सांस्कृतिक र व्यक्तिगत अनुभवलाई जोड्नुपर्ने बताएकी छन्।

उनका अनुसार मानसिक स्वास्थ्यमा देखिने पीडा, त्यससँग जुध्ने क्षमता र निको हुने प्रक्रिया सबै व्यक्तिमा एउटै हुँदैन। त्यसैले व्यक्तिको पृष्ठभूमि र आवश्यकताअनुसार उपचार सेवा प्रदान गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ।

वैज्ञानिक समितिकी अध्यक्ष डा. सरस्वती ढुंगानाले मानसिक स्वास्थ्यलाई निदानका आधारमा मात्र बुझ्न नसकिने बताएकी छन्। जैविक संवेदनशीलता, विकासक्रम, संस्कृति, भाषा र सामाजिक परिवेशले मानसिक समस्याको अनुभव, अभिव्यक्ति र उपचारमा प्रभाव पार्ने उनको भनाइ छ।

‘निदान उपचारको आधार हो, तर बुझाइको अन्तिम निष्कर्ष होइन’ भन्ने मान्यतासहित सम्मेलनको वैज्ञानिक कार्यक्रम तयार गरिएको उनले उल्लेख गरेकी छन्।

वैज्ञानिक समितिले मानसिक स्वास्थ्यका स्नायु विकाससम्बन्धी पक्ष, सामाजिक तथा सांस्कृतिक प्रभाव, विभिन्न संस्कृतिमा मानसिक समस्याको अभिव्यक्ति, प्रमाणमा आधारित उपचार, सामाजिक कलंक र समान उपचार पहुँचका विषयलाई प्राथमिकता दिएको छ।

सम्मेलनमा विज्ञ प्रस्तुति, गोष्ठी, कार्यशाला, मौखिक तथा पोस्टर अनुसन्धान प्रस्तुति र आवासीय चिकित्सकका अनुसन्धानसमेत समावेश छन्।

वैज्ञानिक समितिकी सचिव डा. अर्पणा पोखरेलले यस वर्ष सम्मेलनमा केही नयाँ विषयगत अभ्याससमेत समेटिएको बताएकी छन्। उनका अनुसार न्यायाधीशहरू को सहभागितामा वास्तविक घटनामा आधारित अनुभवमूलक सिकाइ, न्यायिक मनोचिकित्सासम्बन्धी विशेष कार्यशाला, गाँजासम्बन्धी कार्यशाला र उपचारको माध्यमका रूपमा नृत्य तथा शारीरिक गतिविधिको प्रयोगबारे छलफल समावेश गरिएको छ।

यस्ता कार्यक्रमले मानसिक स्वास्थ्य उपचारमा विभिन्न विधा र क्षेत्रको ज्ञान जोड्न तथा नयाँ दृष्टिकोण विकास गर्न सहयोग पुग्ने उनको विश्वास छ।

सम्मेलनका प्रमुख वक्ता तथा संघका निवर्तमान अध्यक्ष प्रा. डा. रवि शाक्यले मानसिक स्वास्थ्य सेवामा प्रभावित व्यक्तिको आफ्नै अनुभव र आवाजलाई महत्त्व दिनुपर्ने बताएका छन्।

विशेषज्ञले तयार गरेका निर्देशिका र मापदण्डमा मात्र आधारित मानसिक स्वास्थ्य प्रणालीले सेवाग्राहीका वास्तविक आवश्यकता र जीवनका अनुभव समेट्न नसक्ने उनको धारणा छ।

त्यसैले व्यक्तिको संस्कृति, सामाजिक अवस्था र व्यक्तिगत आवश्यकतालाई ध्यानमा राखेर समग्र तथा संस्कृतिप्रति संवेदनशील उपचार पद्धति विकास गर्नुपर्ने उनले बताएका छन्।

उनले परम्परागत उपचार प्रणालीका सीमितता पहिचान गर्दै स्नायु विविधतालाई स्वीकार गर्ने र व्यक्तिको अनुभवलाई सम्मान गर्ने अभ्यास आवश्यक रहेको औँल्याएका छन्।

सम्मेलन आयोजक सचिव डा. श्रेया पौड्यालले सम्मेलनलाई वैज्ञानिक ज्ञान, अनुसन्धान र चिकित्सकीय अनुभव आदानप्रदान गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएकी छन्।

उनका अनुसार देशभरका चिकित्सक, प्राध्यापक, अनुसन्धानकर्ता र मानसिक स्वास्थ्यकर्मीलाई एउटै मञ्चमा जोडेर नयाँ सहकार्य तथा अनुसन्धानका सम्भावना खोज्नु सम्मेलनको उद्देश्य हो।

उनले मानसिक स्वास्थ्य उपचारमा प्रत्येक निदानपछाडि एउटा व्यक्ति, प्रत्येक लक्षणपछाडि एउटा कथा र प्रत्येक उपचार प्रक्रियापछाडि आशा पुनःस्थापित गर्ने अवसर रहने बताएकी छन्।

सम्मेलनमा मनोचिकित्सकसँगै मनोवैज्ञानिक, मनोरोग नर्स, सामाजिक कार्यकर्ता, प्राथमिक स्वास्थ्य सेवाका स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता र नीतिनिर्माताबीच सहकार्यको आवश्यकतासमेत उठाइएको छ।

मानसिक स्वास्थ्य सेवा कुनै एक व्यक्ति वा पेशाको जिम्मेवारी नभई सामूहिक प्रयासबाट मात्र प्रभावकारी बनाउन सकिने सहभागीहरूको धारणा छ।

मनोचिकित्सक संघ नेपालले सम्मेलनबाट प्राप्त वैज्ञानिक ज्ञान र छलफललाई नेपालको मानसिक स्वास्थ्य सेवा सुधारमा उपयोग गर्ने अपेक्षा गरेको छ। विशेषगरी युवा मनोचिकित्सक, आवासीय चिकित्सक र नयाँ अनुसन्धानकर्तालाई उपचार, शिक्षण, अनुसन्धान तथा नीतिगत पैरवीमा नेतृत्व गर्ने अवसर प्रदान गर्नुपर्नेमा पनि जोड दिइएको छ।

तीनदिने सम्मेलनले मानसिक स्वास्थ्यप्रतिको सामाजिक धारणा परिवर्तन, उपचार सेवामा पहुँच विस्तार, अनुसन्धानको प्रवर्द्धन र बिरामीको अधिकार संरक्षणका लागि नयाँ बहस तथा सहकार्यको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित शिर्षक :