चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक प्रयोग नगर्न विभागको आग्रह

काठमान्डौ-विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ को अवसरमा औषधि व्यवस्था विभागले चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म मनाइने यस वर्षको सप्ताहको नारा ‘एक स्वास्थ्य, एक अभियान : प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ (One Health, One Action: Prevent AMR Now) तय गरिएको छ।

विभागले जारी गरेको विज्ञप्तिमा एन्टिबायोटिकलगायत प्रतिजैविक औषधिको जथाभावी तथा अत्यधिक प्रयोगले सूक्ष्मजीवमा औषधिविरुद्ध प्रतिरोध क्षमता विकास हुँदै गएको उल्लेख गरेको छ। यसले सामान्य संक्रमणको उपचारसमेत कठिन र जटिल बनाउँदै लगेको विभागले जनाएको छ।

प्रतिजैविक प्रतिरोधको असर मानव स्वास्थ्यमा मात्र सीमित नभई पशुपन्छीको स्वास्थ्य, कृषि उत्पादन र खाद्य सुरक्षामा समेत परेको विभागको भनाइ छ।

विभागले आफूखुसी एन्टिबायोटिक सेवन नगर्न, चिकित्सकले तोकेको मात्रा र अवधिसम्म मात्र औषधि प्रयोग गर्न तथा औषधिको विवेकपूर्ण प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिजैविक औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्न नियमन तथा निगरानीलाई प्रभावकारी बनाइएको विभागले जनाएको छ।

चिकित्सकको सिफारिसबिना यस्ता औषधि बिक्री वितरण नगर्न तथा ‘रिजर्भ’ समूहका एन्टिबायोटिक अस्पतालका फार्मेसीबाट मात्र बिक्री वितरण गर्ने व्यवस्थाको निगरानी भइरहेको विज्ञप्तिमा उल्लेख छ।

विभागका महानिर्देशक भरत भट्टराईद्वारा जारी विज्ञप्तिमा सप्ताहलाई सफल बनाउन थोक तथा खुद्रा औषधि व्यवसायी, स्वास्थ्य सेवा प्रदायक, स्वास्थ्यकर्मी तथा सम्बन्धित पेशागत संघ-संस्थालाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।

सम्बन्धित शिर्षक :