गौमुखी अस्पताल सञ्चालनमा जनशक्ति र उपकरण व्यवस्थापन चुनौतीपूर्ण : स्वास्थ्य मन्त्री पुन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले दुर्गम क्षेत्रमा निर्माण भएका आधारभूत अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभएको छ।

शुक्रबार प्यूठानको गौमुखी गाउँपालिकामा १५ शय्याको गौमुखी आधारभूत अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पुनले अस्पताल सञ्चालनका क्रममा देखिएका समस्या समाधान गर्न संवेदनशील भएर काम गर्नुपर्ने बताउनुभयो।

उहाँले अस्पतालको भौतिक संरचना निर्माणसँगै आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण र औषधिको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो। स्थानीय नागरिकलाई आफ्नै ठाउँमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइए पनि त्यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्नु अर्को चुनौती रहेको उहाँको भनाइ थियो।

मन्त्री पुनले अस्पतालबाट नियमित र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि प्रदेश सरकार र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। अस्पताल सञ्चालनका क्रममा देखिने समस्या पहिचान गरी क्रमशः समाधान गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो।

१९ करोड ३ लाख ४५ हजार ५ सय ५२ रुपैयाँको लागतमा निर्माण भएको अस्पताल १५ शय्याको रहेको छ। अस्पताल सञ्चालनमा आएसँगै गौमुखी गाउँपालिका तथा आसपासका नागरिकलाई सामान्य स्वास्थ्य उपचार, स्वास्थ्य परीक्षण तथा आधारभूत उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।प्यूठानको गौमुखी गाउँपालिकामा १५ शैयाको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा आएको छ ।

१९ करोड ३ लाख ४५ हजार पाँच सय ५२ रुपैयाँको लागतमा निर्माण भएको अस्पतालको शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको हो ।

सम्बन्धित शिर्षक :