स्वास्थ्यसमाचार/ प्यूठानको गौमुखी गाउँपालिकामा १५ शैयाको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा आएको छ ।
१९ करोड ३ लाख ४५ हजार पाँच सय ५२ रुपैयाँको लागतमा निर्माण भएको अस्पतालको शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको हो ।
अस्पतालको उद्घाटनसँगै स्वास्थ्य सेवा समेत सुरु भएको छ । अस्पताल सञ्चालनमा आएपछि गौमुखी गाउँपालिकाका नागरिकले आधारभूत स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।
उहाँले दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारलाई प्राथमिकता दिइएको बताउनुभयो ।
अस्पतालको सेवा प्रभावकारी बनेसँगै स्थानीय नागरिकले आफ्नै गाउँमा स्वास्थ्य उपचार पाउने अवस्था सिर्जना हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले अस्पतालको भौतिक संरचना निर्माणसँगै आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण र औषधिको पर्याप्त व्यवस्थापनमा ध्यान दिने बताउनुभयो ।
अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गरी नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनाउन प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
‘डाक्टरहरूलाई सहरमुखी होइन, गाउँमुखी बनाउन हामीले ध्यान दिएका छौँ । सुगम ठाउँभन्दा पनि दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको छ,’उहाँले भन्नुभयो,‘यस अस्पतालमा जनशक्तिको व्यवस्थापन गर्नेछौँ । डाक्टर र अन्य स्वास्थ्यकर्मी पनि पठाउनेछौँ ।’
मुख्यमन्त्री आचार्यले पछिल्लो समय ३५ वर्षका उपलब्धिलाई बिर्सिएर ‘केही भएन’ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको बताउनुभयो । उहाँले यस अवधिमा भएका उपलब्धिबारे सबै जानकार रहेको स्पष्ट पार्नुभयो ।‘जनताको सेवाका निम्ति हरेक सुखदुःखमा साथ दिँदै अघि बढेका छौँ ।
हामी राजनीतिक संस्कारबाट अघि बढीरहेका छौँ । हरेक क्षेत्रमा समन्वय र सहकार्य गरेर काम गरिरहेका छौँ,’उहाँले भन्नुभयो । उहाँले स्थानीय स्तरका साझा समस्या समाधान गर्नु सबैको सामूहिक जिम्मेवारी र कर्तव्य भएको बताउनुभयो ।
अधुरा तथा अपुरा आयोजनाको प्रदेश सरकारले अनुगमन गर्ने र आवश्यकता अनुसार समस्या समाधानका लागि पहल गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले आधारभूतअस्पताल को सेवा प्रवाह, जनशक्ति र उपकरण व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो ।
उहाँले अस्पताल सञ्चालनका क्रममा देखिएका समस्या समाधान गर्न संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्यूठानका प्रमुख जिल्ला अधिकारी शान्तराज परसाईलगायतले अस्पतालबाट स्थानीय नागरिकले सहज र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
अस्पताल सञ्चालनमा आएसँगै गौमुखी गाउँपालिका तथा आसपासका क्षेत्रका नागरिकलाई सामान्य स्वास्थ्य उपचार, स्वास्थ्य परीक्षण तथा आधारभूत उपचार सेवा स्थानीय तहमै उपलब्ध हुने स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैशीले जानकारी दिनुभयो ।
सो अवसरमा मुख्यमन्त्री आचार्यसमक्ष गाउँपालिकाका तर्फबाट अस्पतालका लागि आवश्यक जनशक्ति र उपकरणको प्रबन्ध गर्नेलगायत चारवटा विभिन्न आयोजनालाई प्राथमिकतामा राखी बजेट व्यवस्था गर्न माग गरिएको थियो ।
यसैगरी महेन्द्र माध्यमिक विद्यालय, पूजा, कोड्का, प्यूठानले विद्यालय भवन निर्माण पूरा गर्न आवश्यक बजेट प्राथमिकतामा राख्न मुख्यमन्त्रीसमक्ष अनुरोध गरेको थियो ।


प्रतिकया दिनुहोस्