स्वास्थ्यसमाचार/नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा लामो समयदेखि बन्द रहेको आधुनिक ५०० एमए क्षमताको एक्स–रे मेसिन मर्मतपछि पुनः सञ्चालनमा आएको छ। यसअघि अस्पतालमा १०० एमए क्षमताको एक्स–रे मेसिनबाट सेवा दिइँदै आएको थियो।
पुरानो एक्स–रे मेसिनको क्षमताले बिरामीको बढ्दो चापअनुसार सेवा दिन कठिन भइरहेका बेला ५०० एमए क्षमताको मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएपछि अस्पतालमा आउने बिरामीलाई थप सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी जटिल प्रकृतिका बिरामीको परीक्षण तथा उपचारमा आधुनिक एक्स–रे प्रविधिले सहयोग पुग्ने अस्पतालले जनाएको छ।
अस्पताल प्रमुख डा. वृजकुमार यादवले लामो समयदेखि सञ्चालनमा आउन नसकेको एक्स–रे मेसिन मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको बताउनुभयो। अस्पतालमा आउने बिरामीको संख्या बढ्दै गएको अवस्थामा गुणस्तरीय र भरपर्दो परीक्षण सेवा विस्तार गर्न एक्स–रे सेवा महत्वपूर्ण रहेको छ।
‘अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढिरहेको छ। आधुनिक उपकरण सञ्चालनमा आएपछि एक्स–रे परीक्षणका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता कम हुन्छ,’ उहाँले बताउनुभयो।
पृथ्वीचन्द्र अस्पतालको विकास समितिका अध्यक्ष जगदीश चौधरीले अस्पतालको सेवा विस्तार र उपकरणको प्रभावकारी सञ्चालनलाई प्राथमिकता दिइएको बताउनुभयो। अस्पतालमा उपलब्ध उपकरणलाई नियमित मर्मतसम्भार गर्दै बिरामीलाई स्थानीयस्तरमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास भइरहेको उहाँको भनाइ छ।

स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक रोशनलाल चौधरीले अस्पतालमा आधुनिक उपकरण सञ्चालनमा आउनु जिल्लाको स्वास्थ्य सेवाका लागि सकारात्मक पक्ष भएको बताउनुभयो। उहाँले उपलब्ध उपकरणको नियमित मर्मतसम्भार र प्रभावकारी उपयोगमा ध्यान दिनुपर्ने बताउनुभयो।‘उपकरण ल्याएर मात्र हुँदैन, त्यसको नियमित मर्मतसम्भार र प्रभावकारी सञ्चालन पनि उत्तिकै महत्वपूर्ण हुन्छ,’ उहाँले बताउनुभयो।
पृथ्वीचन्द्र अस्पताल प्रदेश सरकार, लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय मातहत सञ्चालनमा रहेको अस्पताल हो। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सदरमुकाम परासी बजारस्थित रामग्राम नगरपालिका–५ मा रहेको यो अस्पतालको इतिहास एक शताब्दीभन्दा लामो छ।
वि.सं. १९६८ मा स्थापना भएको पृथ्वीचन्द्र अस्पतालले लामो समयदेखि जिल्लावासीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। वि.सं. २०७३ मा १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति भएको अस्पताल हाल सेकेन्डरी ‘ए’ लेभलको अस्पतालका रूपमा सञ्चालनमा छ।


प्रतिकया दिनुहोस्