स्वास्थ्यसमाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालयले आर्थिक वर्ष २०८२-८३ मा सञ्चालन गरेको स्वर्णप्राशन (स्वर्ण बिन्दु प्राशन) कार्यक्रममा १३ हजारभन्दा बढी बालबालिका सहभागी भएका छन्।
रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा एक वर्षको अवधिमा १३ हजार ५० जना बालबालिकालाई स्वर्णप्राशन गराइएको चिकित्सालयले जनाएको छ।
चिकित्सालयका सूचना अधिकारी गणेश सापकोटाका अनुसार आर्थिक वर्ष २०८२-८३ मा कुल १३ हजार ५० जना बालबालिकालाई स्वर्णप्राशन गराइएको हो। यसमध्ये ७ हजार ३३९ बालक र ५ हजार ७११ बालिका रहेका छन्।
चिकित्सालयले वर्षभरि ११ पटक स्वर्णप्राशन कार्यक्रम सञ्चालन गरेको जनाएको छ। प्रत्येक महिनाको पुष्य नक्षत्रका अवसरमा सञ्चालन हुने यो कार्यक्रम आयुर्वेदको प्राचीन परम्पराअनुसार बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउने विश्वासका साथ सञ्चालन हुँदै आएको छ।
सूचना अधिकारी सापकोटाले स्वर्णप्राशन कार्यक्रमप्रति अभिभावकहरूको आकर्षण वर्षेनि बढ्दै गएको बताए। उनका अनुसार कार्यक्रममार्फत बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने, पाचन शक्ति सुधार गर्ने, स्मरणशक्ति र बौद्धिक विकासमा सहयोग पुर्याउने उद्देश्य राखिएको छ।
उनले आयुर्वेदप्रति नागरिकको विश्वास बढ्दै जाँदा स्वर्णप्राशन कार्यक्रममा सहभागी हुने बालबालिकाको संख्या पनि निरन्तर वृद्धि भइरहेको बताए। आगामी वर्षहरूमा पनि कार्यक्रमलाई अझ प्रभावकारी र व्यवस्थित बनाउँदै निरन्तर सञ्चालन गरिने चिकित्सालयले जनाएको छ।
लुम्बिनी आयुर्वेद चिकित्सालयले नियमित उपचार सेवासँगै प्रवर्द्धनात्मक तथा प्रतिकारात्मक स्वास्थ्य सेवाअन्तर्गत स्वर्णप्राशन कार्यक्रम सञ्चालन गर्दै आएको वताए।


प्रतिकया दिनुहोस्