लुम्बिनी प्रदेशमा मातृमृत्युको संख्या क्रमशः घट्दै गए पनि रुपन्देही अझै प्रदेशकै उच्च जोखिमयुक्त जिल्ला मध्ये रहेको तथ्यांक सार्वजनिक भएको छ।
मातृमृत्यु न्यूनीकरणका लागि जिल्लाका १६ वटै स्थानीय तह, प्रमुख अस्पताल तथा स्वास्थ्य निकायले सेवा सुधार, प्रभावकारी रेफरल प्रणाली र ‘तीन ढिलाइ’ न्यूनीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
स्वास्थ्य कार्यालय रुपन्देहीले बुटवलमा आयोजना गरेको एमपीडीएसआर (मातृ तथा नवजात शिशु मृत्यु निगरानी तथा प्रतिकार्य) पुनर्जागरण कार्यक्रममा जिल्लाका १६ वटै पालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, नर्सिङ प्रमुख, चिकित्सक तथा स्वास्थ्य व्यवस्थापक हरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमा देवी थापाले प्रस्तुत गरेको तथ्यांक अनुसार नेपालमा सन् २०२१ मा गरिएको मातृमृत्यु अध्ययनले प्रति एक लाख जीवित जन्ममा १५१ महिलाको मृत्यु हुने देखाएको छ। दिगो विकास लक्ष्य (एसडीजी) ले सन् २०३० सम्म उक्त दरलाई ७० मा झार्ने लक्ष्य लिएको छ।
तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०-८१ मा ८३, आर्थिक वर्ष २०८१-८२ मा ७५ र आर्थिक वर्ष २०८२-८३ मा ४९ मातृमृत्यु भएका छन्। रुपन्देहीमा भने सोही अवधिमा क्रमशः १६, १३ र १४ मातृमृत्यु भएको विवरण प्रस्तुत गरिएको थियो।
चालु आर्थिक वर्षमा रुपन्देहीका अस्पतालमा भएका २५ मातृमृत्युमध्ये १४ जना रुपन्देहीका, ९ जना कपिलवस्तुका, एक जना नवलपरासीका र एक जना भारतकी महिला रहेको जानकारी दिइयो। अधिकांश मृत्यु अत्यधिक रक्तस्राव, प्रि–एक्लाम्प्सिया, संक्रमण, पल्मोनरी एम्बोलिज्म, गम्भीर रक्तअल्पता तथा अन्य जटिल स्वास्थ्य समस्याका कारण भएको विश्लेषण कार्यक्रममा प्रस्तुत गरिएको थियो।
‘तीन ढिलाइ’ नै प्रमुख चुनौती
कार्यक्रममा मातृमृत्युका अधिकांश घटनाको प्रमुख कारण ‘तीन ढिलाइ’ रहेको निष्कर्ष प्रस्तुत गरिएको थियो। गर्भवती महिला वा परिवारले समयमै उपचार खोज्ने निर्णय गर्न ढिलाइ गर्नु, स्वास्थ्य संस्थासम्म पुग्न ढिलाइ हुनु तथा स्वास्थ्य संस्थामा पुगेपछि पनि समयमै गुणस्तरीय उपचार नपाउनु नै मातृमृत्युका मुख्य कारण रहेको औंल्याइएको थियो।
सहभागीहरूले समयमै गर्भ परीक्षण, जोखिमयुक्त गर्भको पहिचान, प्रभावकारी रेफरल प्रणाली, अस्पतालको पर्याप्त तयारी तथा स्वास्थ्यकर्मीको जवाफदेहिता सुदृढ गर्न सके अधिकांश मातृमृत्यु रोक्न सकिने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डा. भक्तवत्सल राउत, डा. सैलजा घिमिरे, डा. मनोज लम्साल तथा बालरोग विशेषज्ञ डा. जगदीश कुंवर लुम्बिनी प्रादेशिक अस्पतालकी मेट्रोन नेहा थापा बीच प्यानल छलफल भएको थियो। छलफलको सहजीकरण सश्मिता खत्रीले गरेकी थिइन्।
त्यसैगरी खुला छलफलमा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतम, भीम अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा थापा तथा स्वास्थ्य मन्त्रालयकी महाशाखा प्रमुख ईश्वरी केसीले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय लुम्बिनी तथा अस्पतालका प्रतिनिधिहरूले मातृमृत्यु न्यूनीकरणका लागि सुरक्षित मातृत्व सेवा सुदृढ गर्ने, समयमै गर्भ परीक्षण, प्रभावकारी रेफरल प्रणाली, गुणस्तरीय उपचार तथा स्थानीय तह, अस्पताल र स्वास्थ्य निकायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउँदै सुधार योजनालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

स्वास्थ्य निर्देशनालय लुम्बिनीका स्वास्थ्य शिक्षा प्रशासक नेत्र अर्यालले स्थानीय तह र अस्पतालले तयार गरेका सुधार योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सी मरासिनी, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजन, स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक नेत्र अर्याल, स्वास्थ्य मन्त्रालयकी महाशाखा प्रमुख ईश्वरी केसी तथा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमले मातृमृत्यु न्यूनीकरणका लागि स्थानीय सरकार, अस्पताल र स्वास्थ्य निकायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउन आ-आफ्नो क्षेत्रबाट सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमा देवी थापाले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य स्थानीय तह र अस्पतालबीच समन्वय बढाई तथ्यमा आधारित सुधार योजना कार्यान्वयनमार्फत मातृमृत्यु न्यूनीकरण गर्नु रहेको बताइन्।
कार्यक्रमको अध्यक्षता जिल्ला एमपीडीएसआर समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईँले को अध्यक्षता तथा स्वास्थ्य कार्यलय रुपन्देहीका टेक्निसियन अधिकृत खिमलाल पाण्डेको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



प्रतिकया दिनुहोस्