स्वास्थ्यक्षेत्रका ४ सहित एकैपटक १२ ट्रेड युनियनको दर्ता खारेज

स्वास्थ्यसमाचार/ सरकारले राष्ट्रिय स्तरका स्वास्थ्य सेवासँग सम्बन्धित ६ वटा ट्रेड युनियन खारेज गर्ने निर्णय गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज सूचना जारी गर्दै खारेज गरिएका ट्रेड युनियनहरूको नाम सार्वजनिक गरेको हो।

विभागका अनुसार खारेजीमा परेका कुल १२ वटा ट्रेड युनियनमध्ये स्वास्थ्य क्षेत्रसँग सम्बन्धित ६ वटा रहेका छन्। निजामती सेवा ऐन २०४९ (दोस्रो संशोधन २०६४) को दफा ५३ को उपदफा (२) बमोजिम दर्ता भएका नेपाल स्वास्थ्यकर्मी संघ र मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल खारेजीमा परेका छन्।

त्यस्तै, नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को चौथो संशोधन २०७० को दफा ९२ क (१) अनुसार दर्ता भएका नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन पनि खारेज भएका छन्।

विभागले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशको आधारमा पञ्जीकरण अधिकारीहरूको बैठकबाट उक्त निर्णय गरिएको जनाएको छ।

सरकारको यस निर्णयसँगै स्वास्थ्य क्षेत्रमा ट्रेड युनियनको नाममा हुने राजनीतिक गतिविधि केही नियन्त्रण हुने अपेक्षा गरिएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :