काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र शाहले केहीबेरपछि शपथ लिँदैछन् । यससँगै उनी औपचारिक रुपमा नेपालको शासनको बागडोर सम्हाल्दै छन् ।
फागुन २१ को प्रतिनिधिसभा चुनावमा झापा ५ बाट निर्वाचित उनी संसद्को पहिलो यात्रामै प्रधानमन्त्री बनेका हुन् । नवा युवाहरूमाझ लोकप्रिय बालेनले नेपालको राजनीतिक इतिहासमा नै विरलै प्राप्त हुने करिब दुई तिहाइको एक बहुमतको सरकारको नेतृत्व गर्दैछन् । संविधानको धारा ७६ को १ अनुसार बहुमत प्राप्त दलको नेताको रुपमा उनी प्रधानमन्त्री नियुक्त भएका हुन् ।
३६ वर्षीय बालेन पेशाले इन्जिनियर थिए । ४ वर्ष अगाडिसम्म र्यापरका रूपमा नयाँ पुस्ताबीच मात्र चर्चित रहेका उनी काठमाडौं महानगरको मेयरमा विजयी भएसँगै चर्चाको चुचुरोमै पुगे ।
२०७९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको मेयरमा उम्मेदवारी दिँदा राजनीतिक विश्लेषकदेखि सञ्चार माध्यमसम्मले यसलाई उल्लेख्य रूपमा नोटिसमा लिएका थिएनन् । तर चुनावको नतिजाले नेपाली समाजभित्र मतदाताको मनोविज्ञान कसरी बदलिइरहेको छ भनेर संकेत राम्रैसँग देखायो ।
मेयरमा विजयी भएसँगै बालेनले भर्चुअल संसारमा आफ्नो परिचय भूगोलतिर व्यापक बनाउन सफल भए ।काठमाडौंको गौरीगाउँमा जन्मिएका शाह आयुर्वेदिक चिकित्सक डा. राम नारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् ।
ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका विभिन्न स्थान पुगेका छन् ।
२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए । नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, र्यापर तथा कवि-लेखक शाहको राजनीतिक अवतारको चर्चा भने भूगोलभन्दा भर्चुअल माध्यम अर्थात् सामाजिक सञ्जालमा बढी छ ।
विकासको ‘भिजन’
चुनाव जित्न मनसँगै मत पनि जित्नुपर्छ भन्ने बुझेका शाहले चुनावी घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका थिए ।मेयरको उम्मेदवार बन्दा शाह डिग्रीले भन्दा सिपले रोजगारी पाउने वातावरण बनाउने बताउँथे । उनी अहिले पनि राजनीतिभन्दा धेरै विकासका भिजनका कुरा गरिरहेका छन् ।
रास्वपा प्रवेशपछि जनकपुरको उद्घोष सभामा उनले भनेका थिए , ‘म काम गर्ने मान्छे हुँ, म काम गरेर देखाउँछु । मलाई काम गर्न अवसर दिनुहुन्छ ? काठमाडौं नगरवासीले अवसर दिए, काम गरेर देखाएँ । तपाईँहरू दिनुहुन्छ ?’
संवादात्मक शैलीमा थोरै मात्रै बोल्ने शाहले मिथिलालाई वेडिङ डेस्टिनेसन बनाउनेदेखि काठमाडौं महानगरले २० हजार विद्यार्थीलाई निजी विद्यालयमा निःशुल्क पढाइरहेको विषयलाई देशव्यापी बनाउन चाहेको सुनाए ।
राजनीतिक मुद्दालाई नागरिकसँग जोड्न माहिर शाहले संघीयताप्रतिको प्रतिबद्धता राख्दै उनले भनेका थिए, ‘जनकपुरका प्रशासकीय अधिकृत फेर्न काठमाडौं जानुपर्ने अवस्था छ, हो कि होइन ? जनकपुर प्रदेशको राजधानी होइन ? हो भने काठमाडौं किन जानुपर्यो ? यहीँबाट किन हुँदैन ?’
उनले थपेका थिए, ‘पहिला प्रदेशलाई बलियो बनाउनुपर्छ । काठमाडौं जाने व्यवस्था बदल्नुपर्छ । अधिकार माग्न होइन, पशुपति घुम्न जाने काठमाडौं । पशुपतिनाथ, स्वयम्भूनाथ दर्शन गर्न जाने हो, अधिकार माग्न जाने होइन ।’
जेनजी आन्दोलनलगत्तै प्रधानमन्त्री बन्ने प्रस्ताव शाहले स्वीकारेनन् र सन्देश दिए- मेरो उद्देश्य प्रधानमन्त्री हुनुमात्र होइन । अझ उनले सबैभन्दा बढी मतान्तरसहित विजयी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्न चाहे । त्यो प्रतिस्पर्धा उनले जिते ।
वैकल्पिक राजनीति कमजोर भएको बेला पुरानालाई प्रतिस्थापन गर्न चाहने युवा मतदाताको रोजाइ बालेन बालेन परे । व्यक्ति र पार्टीको पक्षमा देखिएको यही चुनावी लहर उनको मुख्य अनुकूलता बन्यो ।


प्रतिकया दिनुहोस्