डाक्टरदेखि स्वयंसेविकासम्म: नीति बनाउने थलोमा स्वास्थ्यकर्मी

स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक प्रतिनिधिसभामा स्वास्थ्य क्षेत्रबाट उल्लेखनीय उपस्थिति गराएको छ। प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमार्फत चिकित्सक, जनस्वास्थ्यविज्ञ, नर्स तथा स्वास्थ्य स्वयंसेविकासमेत संसदमा पुगेका छन्।

रास्वपाबाट डा. लेखजंग थापा, डा. तोसिमा कार्की, आनन्दबहादुर चन्द, डा. दीपककुमार साह, डा. शम्भुकुमार यादव र स्वास्थ्य स्वयंसेविका आशा झा सांसद बनेका छन्।

वरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापा राष्ट्रिय न्युरो केन्द्र, काठमाडौंमा न्युरोलोजी विभाग प्रमुखका रूपमा कार्यरत रहँदै आएका छन्। उनी नेपाल स्ट्रोक संघका संस्थापक अध्यक्षसमेत हुन्।

स्वास्थ्य राज्यमन्त्रीसमेत भइसकेकी डा. तोसिमा कार्की ललितपुर–३ बाट पुनः निर्वाचित भएकी हुन्। किष्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट एमएस (शल्यचिकित्सा) गरेकी कार्की पूर्वमा नेपाल मेडिकल काउन्सिल की कार्यकारी सदस्यसमेत रहिसकेकी छन्।

जनस्वास्थ्यविज्ञ आनन्दबहादुर चन्द कैलाली–५ बाट पहिलोपटक संसदमा पुगेका हुन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्ष उपप्राध्यापकका रूपमा काम गरेका चन्द नसर्ने रोग र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानका अग्रणी अभियन्ता मानिन्छन्।

भारतबाट एमबीबीएस गरेका डा. शम्भुकुमार यादव सिरहा–३ बाट निर्वाचित भएका छन्। निजी अस्पतालमा कामपछि आफ्नै जिल्लामा फर्किएर सेवा दिँदै आएका उनी समुदायमा आधारित स्वास्थ्य सेवामा सक्रिय छन्।

दृष्टिरोग विशेषज्ञ डा. दीपककुमार साह महोत्तरीबाट सांसद बनेका छन्। उनले जनस्वास्थ्यमा स्नातकोत्तर अध्ययन गरी अन्तर्राष्ट्रिय स्तरका संस्थासँग समेत शैक्षिक सम्बन्ध राखेका छन्।

समुदायमा १६ वर्षभन्दा बढी समय स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरेकी आशा झा पनि संसदमा प्रवेश गरेकी छन्। उनले विशेषगरी ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्।

यस्तै समानुपातिकतर्फबाट डा. अंकिता ठाकुर र डा. ओजस्वी शेरचन पनि सांसद बनेका छन्। दन्त चिकित्सक अंकिता ठाकुर सामाजिक गतिविधिमा सक्रिय रहँदै आएकी छन् भने ओजस्वी शेरचन मेडिकल शिक्षण क्षेत्रमा आबद्ध एसोसिएट प्रोफेसर हुन्।

रास्वपाबाट नर्सहरू पनि संसदमा पुगेका छन्। समानुपातिकतर्फबाट प्रभा ढकालसहित खिमा विक, निशा मेहता, कामिनी चौधरी र समिना मियाँ सांसद बनेका छन्।

स्वास्थ्य क्षेत्रबाट प्रत्यक्ष अनुभव बोकेका यी जनप्रतिनिधिहरूको उपस्थितिले नीतिनिर्माण तहमा स्वास्थ्य क्षेत्रका मुद्दा थप प्रभावकारी रूपमा उठ्ने अपेक्षा गरिएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :