स्वास्थ्यसमाचार/रुपन्देहीमा बिगत डेढ बर्षमा क्षयरोगबाट ८० जनाको मृत्यु भएको छ । यस अवधिमा २ हजार ७ सय ७९ जना क्षयरोग संक्रमितको संख्या पाइएको छ ।
विश्व क्षयरोग दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीले भैरहवामा आयोजना गरेको क्षयरोग सम्बन्धि कार्यक्रममा २०८० को साउनदेखि २०८१ को पुस महिनासम्म रुपन्देहीमा २ हजार ७ सय ७९ जना क्षयरोगको संक्रमित संख्या पाइएको जनाइएको हो ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले समयमै रोगको पहिचान नहुनु, नियमित औषधि सेवन नगर्नु र एचआईभीसहितको संक्रमण हुनु क्षयरोगबाट मृत्यु हुनुको प्रमुख कारण रहेको बताए । क्षयरोगको सम्पूर्ण जाँच तथा परीक्षण र औषधिको व्यवस्था सरकारले विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रहरूबाट निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा रुपन्देहीमा २ हजार १२ जना क्षयरोगका बिरामी फेला परेका थिए । त्यसयता २०८१ कोे साउनदेखि पुस महिनासम्ममा नयाँ बिरामी ७ सय ७६ जना फेला परेका हुन् । २०८०/०८१ मा फेला परेका २ हजार १२ जना बिरामीमध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ४ सय ४३, तिलोत्तमा नगरपालिकामा २ सय ७१, सिद्धार्थनगरमा १ सय ७०, सैनामैनामा १ सय ४६, लुम्बिनी सांस्कृतिकमा १ सय २३, देवदहमा १ सय ३९, मायादेवी गाउँपालिकामा १ सय १, कंचनमा ९६, गैडहवामा ८६, ओमसतियामा ८२, शुद्धोधनमा ७७, कोटहीमाईमा ६५, रोहिणीमा ६२, मर्चवारीमा ५३ र सम्मरीमाईमा ५३ जना बिरामी छन् ।
उक्त संख्यामध्ये १ हजार २ सय ३७ जना फोक्सोको क्षयरोगका बिरामी छन् । स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन टीकाराम अधिकारीले उपचाररत बिरामीले दुई महिनासम्म औषधि सेवन गरे निको भएको ठानेर त्यसपछि नियमित औषधि सेवन नगर्नाले समस्या बल्झिने धेरै रहेको बताए । ‘६ महिना नियमित उपचार गरे रोग निको हुन्छ’, उनले भने, ‘तर, बीचमै उपचार गर्न छाड्ने प्रवृत्ति धेरै देखिएको छ ।’
समयमै पहिचान र नियमित औषधि सेवन तथा उपचार पछि विरामी सहजै निको हुन्छन् । भैरहवाका २० वर्षीया कुशल रिजालले आफूलाई एक वर्ष अघि क्षयरोग भए पनि समयमै पहिचान र उपचार पाउँदा निको भएको बताए । ‘उपचार निःशुल्क हुन्छ, सेवा लिन सहज छ’, उनले भने, ‘त्यसैले रोग लुकाएर बस्नु हुँदैन ।’ उनले रोग देखिए तत्काल उपचार गराउन सुझाव दिए ।
सरकारले सन् २०५० सम्म क्षयरोग मुक्त नेपाल गराउने लक्ष्य लिएको छ । रुपन्देहीमा क्षयरोगको उपचारका लागि १ सय २२ वटा डट्स केन्द्र, १६ स्थानमा परीक्षणका लागि माइक्रोस्कोपी, २५ स्थानमा प्रयोगशाला उपलब्ध छन् ।
प्रतिकया दिनुहोस्