नेपाल पत्रकार महासंघका पूर्व उपसभापति कर्णबहादुर कार्कीको निधन

स्वास्थ्यसमाचार/नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति कर्णबहादुर कार्कीको शनिबार निधन भएको छ । उनी बुटवलबाट प्रकाशित हुने लुम्बिनी राष्ट्रिय दैनिकका संस्थापक सम्पादक हुन् ।

लामो समयदेखि मधुमेह र मिर्गौलापीडित रहेका ७० वर्षीय कार्कीको पाल्पा तानसेन धुवाघाटमा निधन भएको हो । उनी मिर्गौला प्रत्यारोपणको तयारीमा थिए । उनका एक श्रीमती भगवती, छोरी निरु, बन्जु र छोरा सरोज छन् । कान्छा छोराको केही वर्षअघि मृत्यु भएको थियो ।

पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सक्रिय भएसँगै उनले २०३६ सालको जनमत संग्रहपछि पाल्पाबाट पत्रकारिता सुरु गरेका थिए । कार्कीले जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा जोडिएर पत्रकारिता गरेका थिए । २०४५ सालमा कार्कीले दैनिक लुम्बिनीको प्रकाशन सुरु गरेका थिए ।

पञ्चायतविरोधी आन्दोलनमा सक्रिय भएर चिनिएका व्यक्ति भएकाले तत्कालिन जिल्ला प्रशासनले रुपन्देहीमा पत्रिका दर्ता गर्न नदिएपछि नवलपरासीको परासीमा भाई कृष्णबहादुर कार्कीको सहयोगमा दैनिक लुम्बिनी दर्ता गरेका थिए ।

दैनिक लुम्बिनीको प्रकाशन संस्था सिद्धार्थ पब्लिकेसन्स प्रालिका अध्यक्ष मोहन चापागाईले शोक विज्ञप्ति जारी गर्दै संस्थापक सम्पादक कार्कीको निधनले दैनिक लुम्बिनी परिवार स्तब्ध र दुखित भएको उल्लेख गरेका छन् । उनको शनिवार नै बुटवलको योगिकुटी स्थित मगरघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

 

सम्बन्धित शिर्षक :