प्रतिमा–निमा प्रतिष्ठान द्धारा लुम्बिनीका १३ अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

स्वास्थ्यसमाचार/कोरोनाको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले रुपन्देहीको एक गैरसरकारी संस्थाले लुम्बिनी प्रदेशका १३ वटा सरकारी अस्पताललाई साढे दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

भैरहवामा रहेको प्रतिमा–निमा स्मृति प्रतिष्ठानले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको भीम अस्पताल तथा लुम्बिनी प्रदेशका अन्य ११ जिल्ला अस्पताललाई कोभिड संक्रमणविरुद्धको उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गर्न थालेको हो ।

प्रतिष्ठानले अक्सिजन कन्सन्ट्रेटर ९० थान, अक्सिजन सिलिण्डर ११५ थान, मेडिकल टेन्ट ५ थान, बाइब्याप मेसिन ५ थान, आईसीयू बेड ५ थान, पीपीई सेट २ हजार २०० थान प्रदान गर्ने भएको छ । यस्तै सेनिटाइजर १ हजार १५० लिटर, सर्जिकल मास्क १२ हजार थान, सर्जिकल ग्लोब्स २ हजार थान, फेसशिल्ड ४ हजार थान र सर्जिकल क्याप ४ हजार थान अस्पतालहरुको आवश्यकता अनुसार वितरण गरिने संस्थाका कार्यकारी निर्देशक स्वाती थापाले बताइन् ।

बुधबार प्रतिष्ठानले लुम्बिनी प्रादेशिक अस्पताललाई २० थान अक्सिजन सिलिण्डर, २० थान अक्सिजन रेगुलेटर, ८ थान अक्सिजन कन्सन्ट्रेटर, २०० थान पीपीई गाउन र २०० थान शु कभर, १२ सय सर्जिकल मास्क, ४५० थान फेसशिल्ड, ४५० थान सर्जिकल क्याप र १२० लिटर सेनिटाइजर प्रदान गरेको प्रतिष्ठानका निर्देशक धर्म केसीले जानकारी दिए ।

त्यस अवसरमा प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठले कोभिडको नियन्त्रण र उपचार सरकार एक्लैले गर्न नसक्ने हुँदा गैरसरकारी र सामाजिक संघसंस्थाको साथ चाहिने बताए ।

एक महिनाभित्र प्रदेशका सबै जिल्ला अस्पतालमा पुगेर स्वास्थ्य सामग्री वितरण गरिसक्ने केसीले बताए ।यस्तै प्रतिष्ठानले रुपन्देहीको रोहिणी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन सेन्टर, शुद्धोधन गाउँपालिकाले सञ्चालन गरेको कोभिड विशेष अस्पताल र सियारी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन सेन्टरलाई पनि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

 

सम्बन्धित शिर्षक :