तिलोत्तमा नगरपालिका द्धारा २० वेडको आइसोलेसन सेन्टर सञ्चालन

स्वास्थ्यसमाचार /रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आइसोलेसन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याएको छ ।कोरोना महामारी नियन्त्रण पूर्वतयारी अन्तर्गत् शंकरनगर स्वास्थ्य चौकीमा निर्माण गरिएको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो ।

स्वास्थ्य चौकीबाट नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं. २ को कार्यालयमा स्थान्तरण गरी आइसोलेसन सेन्टरको रुपमा तयार गरिएको नगर प्रमुख बासुदेव घिमिरेले वताए । आइसोलेसन सेन्टरमा एक जना चिकित्सक, एक जना नर्ससहितका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका कर्मचारी खटिएका छन् ।

बुटवल कोरोना अस्पतालसँगको समन्वयमा कोरोना संक्रमित भए पनि लक्षण नदेखिएकाहरुलाई आइसोलेसनमा राख्न थालिएको छ । यहाँ सोमबारसम्म आरडिटी पोजेटिभ देखिए पनि पिसिआरको नतिजा आइनसकेका समेत गरी १४ जना रहेको आइसोलेशन ईञ्चार्ज केशव भट्टराईले वताए । बीस बेडको आइसोलेसन सेन्टरमा नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको उनकोे भनाइ छ ।

सेन्टरमा आइसियु र भेन्डिलेटरको सुविधा नचाहिने कोरोनाका संक्रमित तथा सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ । सेन्टरमा २४ सैं घण्टा सेवा दिनेगरी स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरिएको चिकित्सक संजोग पाठकले वताए । तिलोत्तमा नगरपालिकाले आइसोलेसनको लागि आफ्नै स्रोतमा दुई जना चिकित्सक तथा एक जना स्टाफ नर्स नियुक्त गरेको छ ।

नगर प्रमुख बासुदेव घिमिरेले कोरोना महामारीको अन्त्य भैसकेपछि स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकाश गरेर लैजाने गरी पूर्वाधार निर्माण गरिएको वताए । उनले अनुसार अहिले थप गरिएका मेडिकल उपकरण तथा भौतिक पूर्वाधारले अस्पताल सञ्चालनमा सहजता ल्याउनेछ ।

तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमण पूर्वतयारी अन्र्तगत् शंकरनगर र कोटिहवामा क्वारेन्टाइन सञ्चालन गरिरहेको छ ।

सम्बन्धित शिर्षक :