स्वास्थ्यसमाचार/रुपन्देहीको देवदह नगरपालिका–२ मा अवस्थित केरवानी स्वास्थ्य चौकी आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट सेवा प्रवाह गर्ने स्वास्थ्य संस्था भएकोे छ। जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीको आयोजना र चौकी व्यवस्थापनमा न्यूनतम सेवा मापदण्ड पारस्परिक अवलोकन भ्रमण कार्यक्रममा उक्त कुरा बताईएको हो।
कार्यक्रम केरवानी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. २ का वडाध्यक्ष दलबहादुर राकासकोटीको अध्यक्षता र जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
देवदह नगरपालिकाभित्र रहेका १२ वटा स्वास्थ्य संस्थाबीच गरिएको सेवा मूल्यांकनमा केरवानी स्वास्थ्य चौकीले ९३ अंक प्राप्त गर्दै उत्कृष्ट स्थान प्राप्त गरेको थियोे। मूल्यांकनमा सुशासन, क्लिनिकल सेवा व्यवस्थापन, सेवा पहुँच र व्यवस्थापनको पक्षलाई आधार बनाइएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका न्यूनतम सेवा मापदण्ड फोकल पर्शक अनुराधा झाले बताउनु भयो ।
देबदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले यो स्वास्थ्यचौकीले अघिल्लो वर्ष पनि ९२ अंक प्राप्त गरेको थियो, जसलाई यस वर्ष सुधार गर्दै अझ राम्रो नतिजा हासिल गरिएको छ। उहाले भन्नु भयोे, “लगातार दुई वर्षसम्म उच्च अंकसहित उत्कृष्ट बन्नु केरवानी स्वास्थ्य चौकीको समर्पण र जिम्मेवारीको प्रमाण हो।“
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयकुष्ठ अधिकृत टीकाराम अधिकारीले कार्यक्रममा बोल्दै न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards – MSS ) स्वास्थ्य सेवाको गुणस्तर मापन गर्न महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले भन्नुभयो, “न्यूनतम सेवा मापदण्ड कुनै पनि स्वास्थ्य संस्थाले कम्तीमा प्रदान गर्नैपर्ने आधारभूत सेवा र व्यवस्थाको सूचक हो। यो मापदण्ड पालना गर्दा मात्र सेवा प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बन्न सक्छ।“
अधिकारीले सबै स्थानीय स्वास्थ्य संस्थाहरूले यस मापदण्डलाई नियमित मूल्यांकन र सुधारको उपकरणका रूपमा लिनुपर्नेमा वताउनु भयोे। उहाँले केरवानी स्वास्थ्य चौकीले यो मापदण्ड उच्च रूपमा पूरा गर्दै उत्कृष्ट अंकसहित उत्कृष्ट संस्थाको रूपमा उभिनु उदाहरणीय भएको वताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले उत्कृष्ट सेवाका लागि सबै स्वास्थ्य संस्थाले अनुसरण गर्न सक्ने उदाहरण प्रस्तुत भएको वताउनु भयो। उहाले भन्नु भयोे, “नागरिकलाई छिटो छरितो सेवा दिनु आजको आवश्यकता हो। त्यसका लागि भौतिक पूर्वाधार, जनशक्ति र समन्वयको सशक्त संयोजन जरुरी हुन्छ।“
उहाले योजनावद्ध ढंगले काम गरेमा स्वास्थ्य सेवामा थप सुधार गर्न सकिने उल्लेख गर्दै सेवा प्रवाहमा सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने वताउनु भयो ।
कार्यक्रममा वडा सदस्य बेलुमाया बम्रेलले अतिथिहरूलाई स्वागत गरेकी थिइन् भने स्वास्थ्य चौकीका प्रमुख काशीराम रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेवी, स्वास्थ्यकर्मी र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रतिकया दिनुहोस्