स्वास्थ्यमा लुम्बिनी प्रदेश सरकारको ४ अर्ब ९५ करोड बजेट

यस्ता छन १५ बुँदे कार्यक्रमहरु

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्/ ८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित छ ।

आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्नु भएको हो । वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८ दशमलव ८० प्रतिशत अनुमान गरिएको छ ।

मन्त्री कार्कीले स्वास्थ्य तर्फ ४ अर्व ९५ करोड बजेट बिनियोजन गर्नु भएको छ । स्वास्थ्यमा सबै भन्दा ठुलो बजेट लुम्बिनी प्रादेशिक अस्पतालको निमार्णाधीन भबन रहेको छ त्यसको लागी १ अर्ब बिनियोजन भएको छ ।

 यस्ता छन स्वास्थ्यमा प्रदेश सरकारले ल्याएका योजना तथा बजेट ।

1). आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सुलभ र गुणस्तरीय बनाइनेछ। स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि, उपकरण र जनशक्ति आपूर्तिको व्यवस्था मिलाइनेछ। निःशुल्क वितरण गरिने औषधिका लागि रु.३ करोड र उपकरणका लागि रु.12 करोड बजेट विनियोजन गरेको छु।

2.) उच्च मातृ तथा नवजात शिशु मृत्यु दरलाई कम गर्न “सुरक्षित मातृत्व अभियान” अन्तर्गत निःशुल्क पूर्व प्र सुतीदेखि उत्तर प्रसुती सेवा प्याकेज, दुर्गम स्थानमा निःशुल्क हवाइ उद्धार सेवा कार्यक्रमका लागि रु १० करोड विनियोजन गरेको छु।

3.) “मानसिक स्वास्थ्यमा सुधार; स्वस्थ जीवनको आधार” भन्ने नाराका साथ बढ्दो मानसिक स्वास्थ्यको समस्या तथा आत्महत्याको रोकथाम र उपचारको लागि नागरिक आरोग्य कार्यक्रम, जीवनशैली परिवर्तन, योग शिविर सञ्चालन र मनोसामाजिक परामर्श लगायतका कार्यक्रमका लागि रु. २ करोड विनियोजन गरेको छु।

4. )मुटुको भल्भ प्रत्यारोपण, मृगौला प्रत्यारोपण र क्यान्सर रोगको उपचारमा प्रति व्यक्ति दुई लाख रूपैयाँको सहुलियतलाई निरन्तरता दिएको छु। यसको लागि रु.१० करोड विनियोजन गरेको छु। आँखाको नानीको नि:शुल्क प्रत्यारोपण र डायलाइसिस सेवा विस्तारका लागि बजेट विनियोजन गरेको छु। निःशुल्क रक्तसञ्चार सेवालाई निरन्तरता दिएको छु।

5. )राप्ती प्रादेशिक अस्पतालको क्षमता विकास गरी दुई सय शैय्यामा स्तरोन्नति गर्न रु.५ करोड विनियोजन गरेको छु। प्रदेश राजधानी स्थित भालुबाङ अस्पतालमा विशेषज्ञ सेवा तथा चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न बजेटको व्यवस्था मिलाएको छु।

6)सिकल सेल एनिमिया, थालासेमिया र हेमोफिलिया रोगको सचेतना र स्क्रिनिङ्गको लागि आवश्यक रकम छुट्याएको छु।

7.) पचास शैय्यामा सञ्चालनमा रहेका अर्घाखाँची अस्पताल सन्धिखर्क, भिम अस्पताल भैरहवा र बर्दिया अस्पतालको भवन निर्माणका लागि बजेट विनियोजन गरेको छु।

8). निर्माणाधीन स्वास्थ्य कार्यालय प्युठान, रुकुम (पूर्व) अस्पताल, ट्रमा सेण्टर, लमहीको लागि रु.८ करोड विनियोजन गरेको छु। साथै, प्रदेशस्तरीय सरुवा रोग अस्पताल, कपिलवस्तुको लागि आवश्यक रकम व्यवस्था गरेको छु।

9.) पोषणका सूचकहरु राष्ट्रिय औसतभन्दा कमजोर भएका कपिलवस्तु, बाँके, बर्दिया, रुपन्देही र दाङमा पोषण विशेष कार्यक्रम सञ्‍चालनका लागि रु.8 करोड व्यवस्था गरेको छु। महिला तथा बालबालिकाको स्वास्थ्य तथा पोषणको निरन्तर निगरानीका लागि सामुदायिक स्वास्थ्य कार्यक्रममा डिजिटल स्वास्थ्य सूचना प्रणाली सञ्‍चालनका लागि बजेट विनियोजन गरेको छु।

10). दुर्गम तथा बिरामीको चाप रहेको स्थानमा विशेषज्ञ एवम् शल्यक्रिया सेवा सहितको स्वास्थ्य शिविर कार्यक्रमका लागि रकम विनियोजन गरेको छु।

11). प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीमा विशेषज्ञ सेवा र लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवललाई विशेषज्ञ चिकित्सालयको रुपमा स्तरोन्नति गर्न रु.3 करोड विनियोजन गरेको छु।

12). मलेरिया, डेंगु, कालाजार, कुष्ठरोग लगायत उष्ण प्रदेशीय उपेक्षित रोगहरू तथा क्षयरोग, हेपाटाइटिस र एच.आई.भी. एड्सको समयमै व्यवस्थापन तथा केशमा आधारित सर्भिलेन्स लाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्रोतको प्रबन्ध गरेको छु। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रलाई चौबिसै घण्टा सञ्चालनमा ल्याउन आवश्यक ब्यवस्था मिलाएको छु।

13.) मधुमेह, उच्च रक्तचाप, क्यान्सर जस्ता नसर्ने रोग न्यूनीकरण तथा रोकथाम र स्वास्थ्य प्रवर्धनका लागि रु.४ करोड विनियोजन गरेको छु।

14. )प्रदेश गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको लागि रु.१ अर्ब विनियोजन गरेको छु।

15.) स्वास्थ्य मन्त्रालयको लागि रु.४ अर्ब ९५ करोड विनियोजन गरेको छु।

budget-inner-2082_merged

 

 

सम्बन्धित शिर्षक :