स्वास्थ्यसमाचार/ प्रसुतिसेवा दिने बरदान क्लिनिक दर्ता विनानै सञ्चालन भएको पाइएपछि अनुगमन टोलीले ताला लगाइदिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले अनुगमन गर्दा क्लिनिक दर्ता नभई सञ्चालन भएको भेटिएपछि ताला लगाएको हो । फार्मेसी भने खुल्ला छ ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवि रानाले बरदान क्लिनिक प्रा.लिको ओपीडि, ल्याव, भिडियो एक्सरे बन्द गराइएको बताए । ‘दर्ता विना नै सञ्चालन भएको भेटिएपछि ताला लगाएका छौ ।
आवश्यक दर्ता प्रक्रिया पुरा गरेर आएपछि मात्र ताला खुल्नेछ’ उनले भने । बरदान क्लिनिकका सञ्चालक डा. मिलन अधिकारी हुन । लामो समय देखि बुटवलमा निःसन्तानहरुका लागि बरदानले सेवा दिदै आएको भएपनि दर्ता विना नै सञ्चालनमा रहेको भेटिएपछि क्लिनिकमा ताला लागेको हो ।
बरदान सहित बुटवलमा विहिबार गरिएको अनुगमनमा ६ वटा क्लिनिकहरु दर्ता विना सञ्चालनमा रहेको भेटिएपछि अनुगमन टोलीले बन्द गराएको थियो । त्यस्तै बुटवल डेण्टल प्रा.लि पनि दर्ता विना नै सञ्चालन भएको भन्दै अनुगमन टोलीले बन्द गराएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका ल्याब टेक्नेसियन अधिकृत खिमलाल पाण्डेले जिल्लामा ५०० भन्दा बढी मेडिकल क्लिनिकहरू रहेको जानकारी दिँदै अनुगमनलाई थप तीव्रता दिने तयारी भइरहेको बताए। बन्द गरिएका क्लिनिकहरूलाई दर्ता प्रमाणपत्र प्राप्त गरेपछि मात्र पुनः सञ्चालनको अनुमति दिइने जनाइएको छ।
प्रतिकया दिनुहोस्